‘माग्ने राजा’मा खिचियो ‘पूर्व राजा’ आउँदाको भीड



आज काठमाडौंको त्रिभुवन विमानस्थल बाहिर हजारौं राजावादीहरुको भीड लाग्यो । हातमा राष्ट्रिय झन्डा बोकेर उपस्थित हजारौ मानिसहरुले पोखराबाट आएका ‘पूर्व राजा’ ज्ञानेन्द्र विर विक्रम शाहलाई स्वागत गरे ।

तर, यो भीडमा एउटा फिल्मको छायांकन समेत गरियो । ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको फिल्म ‘माग्ने राजा’को टिमले पाँच वटा क्यामेरा राखेर भीड कैद गर्यो ।

तर, फिल्ममा पूर्व राजालाई देखाउने तयारी भने गरिएको होइन । वुझिएअनुसार, ठूलो भीड कैद गर्नुपर्ने भएकाले आजको भीडलाई क्यामेरामा कैद गरिएको हो । यो भीडलाई फिल्ममा कसरी प्रयोग गरिनेछ त्यो भने फिल्म रिलिज भएपछि नै थाहा होला ।

सामिप्यराज तिमिल्सिनाको लेखनमा तयार भइरहेको यो फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ‘माग्ने राजा’को भूमिकामा छन् ।

मुनाल घिमिरेको निर्माणमा तयार भइरहेको यो फिल्ममा केदारको साथमा वर्षा सिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई आउँदो वर्षको तीजमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।