टङ्क र निर्देशक भीमसेनको सहकार्यमा बन्यो ब्रिटिस फिल्म ‘कामा’


बेलायतमा बसोबास गर्ने अभिनेता टङ्क धमाला पछिल्लो समय चर्चामा छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस विज्ञापन तथा फिल्म ‘डेन्जरस गेम’ मा समेत अभिनय गरिसकेका अभिनेता धमालाको यसमा मुख्य भूमिकामा छन् । नेपाली फिल्म ‘कठपुतली’ निर्देशन गरेका भीमसेन लामासँगको सहकार्यमा यो फिल्म तयार भएको हो ।


विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’ उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन् ।
उनले फिल्ममा आर्मीको भूमिका निर्वाह गरेका छन् । जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउछन् । त्यसपछि आउने घटनाक्रमले थ्रिलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताए ।
‘यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रुपमा फिट गर्ने देखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरें । आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने ।उनले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण समेत लिएको बताए । अभिनेता धमालाले बलिउडको ब्लकबष्टर फिल्म ‘एनिमल’, नेपाली फिल्म ‘सरौतो’ मा समेत अभिनय गरिसकेका छन् ।


सार्वजनिक प्रदर्शन अगाडि आयोजित प्राइभेट स्क्रीनिङमा समीक्षकले उनले निर्वाह गरेको भूमिकाको प्रसंसा समेत गरेका थिए । शारीरिक बनोट र पर्सानिलिटीले उनलाई नोटिस गराइरहेको छ । पेसाले चार्टर एकाउन्टेन्ट भएता पनि उनले फिल्म सम्बन्धी अध्यन गरेर मोडलिङ सुरू गरेका थिए । सन् २०१८ देखि मोडलिङमा सक्रिय अभिनेता धमालाले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरिसकेका छन् ।


‘फिल्म सम्बन्धी अध्यन गरेका कारण पनि कलाकारितालाई म निरन्तरता दिईरहेको छु । नेपाली फिल्मसँगै भारतीय र ब्रिटिस फिल्ममा काम गर्ने क्रममा मैले उनीहरुको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ । यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मदत गर्नेछ भन्ने लागेको छ’, अभिनेता धमलाले भने ।


उनलाई ‘सरौतो’ पछि केही नेपाली फिल्ममा समेत अभिनय गर्ने प्रस्ताव गएको थियो । यद्यपि ‘कामा’ को तयारी र आफ्नै दैनिकीले गर्दा उनले समय दिन सकेनन् । यद्यपि अब उनी नेपाली फिल्मको लागि पनि तयार भएको बताउछन् ।
‘ब्रिटिस फिल्ममा अनुबन्धित भएकै कारण मैले केही राम्रा अफर पनि स्वीकार गर्न सकिन, किनकि म सम्झौताले बाधिएको थिए । तर, अब नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार भएको छु । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक फिल्ममा देखिने मेरो चाहना छ’, उनले भने ।


ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आवद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् ।