‘अञ्जिला’लाई प्रिमियरमा प्रतिक्रियाः मिलनको करिअरकै उत्कृष्ट फिल्म


निर्देशक मिलन चाम्सले करिअरकै उत्कृष्ट प्रतिक्रिया फिल्म ‘अञ्जिला’बाट पाएका छन् । सोमबार बेलुका आयोजित प्रिमियर समारोहमा मिलन निर्देशित यो फिल्मले अधिकांशलाई भावुक बनायो । यो फिल्म मिलनको करिअरकै उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया अधिकांशले दिएका छन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित रहेर तयार पारिएको यो फिल्मको कथावस्तु, मेकिङ, पटकथा, कलाकारहरुको अभिनयको सबैले तारिफ गरेका छन् ।

यो फिल्मले एन्जिलाको बाल्यकाल, उनको पारिवारिक अवस्था, फुटबलप्रतिको उनको मोह, खेल खेल्नका लागि उनले गरेको संघर्ष र सफलताको कथा भन्छ ।

फिल्म हेर्न पुगेका अधिकांश फिल्मकर्मी, खेल क्षेत्रका विभिन्न व्यक्तिहरुले यो फिल्मको मुक्तकण्ठले प्रशंसा गरे ।

बायोपिक फिल्ममा मिलनको यो ह्याट्रिक हो । यसअघि उनले ‘बोबी र ब्लाइन्ड रक्स’ नामक बायोपिक फिल्म बनाएका छन् ।

फिल्म हेर्नका लागि सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्यालका साथमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षकहरु, पूर्व आइजीपी दुर्जकुमार राई, एन्फाका पूर्व अध्यक्ष गणेश थापा, नायिका केकी अधिकारी, कलाकार अलिसा राई, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायत पुगेका थिए । यस्तै, फिल्मका मुख्य नायक दयाहाङ राई, निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ पनि हलमा उपस्थित थिए ।

फिल्मले एक चेलीको संघर्ष र सफलताको कथा प्रस्तुत गरेको भन्दै सबैका लागि प्रेरणा बन्ने अधिकांशको प्रतिक्रिया थियो ।
फिल्मबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्देशक मिलन चाम्स पनि भावुक देखिए । उनले, एञ्जिलाले भोगेको कथालाई नै पर्दामा देखाएको बताए ।

यो फिल्मको छायांकन इलाम, काठमाडौं र झापामा गरिएको छ । सुदिप बरालको छायांकन पक्षको पनि खुलेरै तारिफ भएको छ ।