ज्ञानेन्द्रलाई भेटेकी झाँक्रीले भनिन्ः ‘पूर्वराजा फर्किन्छन्, तर राजसंस्था फर्किँदैन’


नेकपा (एकीकृत समाजवादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेपालमा अब राजतन्त्रको कुनै गुञ्जायस नरहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब नेपालमा देशमा राजतन्त्र फर्किने सम्भावना नै नरहेको बताएकी हुन् । उनले कुनै ठाउँको भ्रमण गरेर पूर्वराजा काठमाडौंमा फर्किए पनि राजतन्त्र भने कहिले पनि नफर्किने बताईन् । ‘पूर्वराजा चाहीँ फर्किनुहुन्छ । हिजो पोखराबाट काठमाडौं आउनु भयो । फेरि अन्त जानुभयो भने आउनुहुन्छ । पूर्वराजा चाहीँ फर्किनुहुन्छ । तर, राजतन्त्र चाहीँ फर्किँदैन । म त सम्भावना नै देख्दिनँ,’– उनले भनिन् ।

देशमा राजतन्त्र आयो भने हालिमुहाली गरौंला भनेर राजतन्त्रको पक्षमा अहिले ७०/८० वटा विभिन्न समूहहरु सक्रिय रहेको उनले बताईन् । तर, ती समूहबीच नै एकता नरहेको र एकअर्कामा काटाकाटको अवस्था रहेको उनले बताईन् । ‘राजा आएर देश बचाइदेउ भन्नेहरु चाहीँ राजा आएर देश बचाउने भन्दा पनि राजा आएपछिको हालिमुहालीको लागि ७०/८० विविध ग्रुपहरु छन् । उहाँहरुको एउटा ग्रुपसँग अर्कोको काटाकाट छ । राजा भन्ने नाममा आउनु भएको छ । राजतन्त्र भनेर झण्डा बोक्ने, आदित्यनाथको तस्वीर बोक्ने मानिसहरु पनि म नजिकबाट धेरै हिसाबले चिन्छु,’– उनले भनिन् ।

साथै, राजावादीहरुले प्रदर्शनका क्रममा भारतीय मुख्यमन्त्री आदित्यनाथको तस्वीर प्रयोग गरेकोप्रति उनले आपत्ति जनाईन् । आदित्यनाथको राजावादी प्रदर्शनमा समर्थन रहेको जस्तो आफूलाई नलागेको उनको भनाइ छ । उनीहरुले इन्टरनेटबाट तानेर अदित्यनाथको तस्वीर दुरुपयोग गरेको हुनसक्ने नेतृ झाँक्रीको दाबी छ । उनले भनिन्, ‘उहाँको समर्थन छैन होला । उहाँको तस्वीकर इन्टरनेटबा ल्याएर बोक्न पाइन्छ । भारतले लोकतन्त्रको विरुद्धमा काम गर्छ भन्ने मलाई लाग्दैन ।’

पूर्वराजा कसैको उक्साहटमा नलागेर आफ्नो स्थानमा इज्जतसाथ बस्दा नै राम्रो हुने उनको भनाइ छ । पूर्व राजा ज्ञानेन्द्रले पनि एक जना नागरिकको रुपमा सबै गतिविधि गर्न पाउने उनले बताए । दुई/चार जना मान्छेहरुले अहिले राजालाई उक्साइराखेको उनले बताईन् । उनले अब सबै राजनीतिक दल र नेताहरुले आफूले आफैंलाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याईन् ।

साथै, आफूले धेरै अगाडि एयरपोर्टमा पूर्वराजालाई भेटेको र उनीप्रति आम नागरिकजस्तै आफूमा सम्मान गरेको उनले बताईन् । पूर्वराजा ज्ञानेन्द्रको गतिविधिमा सरकारले कुनै हस्तक्षेप गर्न नहुने उनले बताईन् । नेतृ झाँक्रीले पूर्वराजालाई भेट्दाको प्रसंग सुनाउँदै भनिन्, ‘मैले एक दिन एयरपोर्टमा पूर्वराजा ज्ञानेन्द्रलाई भेट्ने मौका पाएँ । म अनौपचारिक लुगामा थिएँ । नमस्कार गरेँ । धेरै अगाडिको कुरा हो ।’