नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पूर्वराजा ज्ञानेन्द शाहलाई सरकारले उपलब्ध गराएको सुरुक्षा व्यवस्था र सुविधा फिर्ता गर्ने निर्णय गर्नुपर्ने माग गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुरक्षा व्यवस्था अगाडि पछाडि लगाएर हिँड्दा ज्ञानेन्द्रलाई अझैं सत्तामै छु कि भन्ने भ्रममा परेको हुनसक्ने बताए । उनले भने, ‘नागरिकको स्थानमा उहाँ बस्ने हो भने ठीक छ । म त सरकारलाई भन्न पनि चाहन्छु– तुरुन्त सरकारले ज्ञानेन्द्रलाई दिएको स्कर्टिङलगायतका सुरक्षा प्रणाली सबै फिर्ता गरोस् । नागरिकको ठाउँमा बस्नका लागि उनलाई सरकारले निर्देशन देओस् ।’
उनले अब नेपालमा राजतन्त्र कहिले पनि नफर्किने बताए । राजतन्त्र चिहानमा पुगिसकेको बताउँदै उनले अब फर्किन्छ भन्नु केवल आत्मरतिमात्रै रहेको दाबी गरे । नेता सापकोटाले भने, ‘चिहानमा गाडिसकेको प्रेत फेरि जन्मिन्छ भन्नु चाहीँ आत्मरतिमात्रै हो । यो दिवा सपना, मनोगत कुरा हो । यो सम्भव छैन ।’
नेपाली जनताको सदाशयताले मात्रै ज्ञानेन्द्र नेपालमा बस्न पाएको उनले बताए । जनताले देखाएको सदाशयतालाई पूर्वराजा ज्ञानेन्द्रले कमजोरी सोच्न नहुने नेता सापकोटाको भनाइ छ । नेता सापकोटाले संसारभरीका परिवर्तनको आन्दोलनमा त्यहाँका शासकहरु देश छाडेर भागेको वा मारिएको इतिहास नबिर्सन पूर्वराजालाई चेतावनी दिए । ‘संसारभरका परिवर्तनका आन्दोलन हामीले हेर्यौं भने त्यहाँका शासक की देशबाट लखेटिएका छन्, कि देशभित्रै मारिएका छन् । तर, नेपाली जनताले कोमल हृद्धयको साथ उनका सबै गल्तीहरुलाई जनताले माफी दिएका हुन् । त्यो कुरा उनले बुझ्नुपर्छ । अन्यथा महँगो मूल्य चुकाउनुपर्छ,’– उनले भने ।
प्रतिक्रिया