काठमाडोँ- प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरमा जारी रहेको छ, जहाँ विभिन्न विधेयकहरूको प्रस्तुति र निर्णयसम्बन्धी कार्यसूची रहेको छ। बैठकमा प्रस्तुत गर्नका लागि ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’, ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’, ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’, र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ माथि सांसदबाट प्राप्त विरोधका सूचनाहरूलाई निर्णयार्थ पेश गरिने छ।
यसैगरी, मन्त्रीहरूले विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो र त्यसपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि गत फागुन २१ र २२ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट ५ वटै अध्यादेश पारित भएका थिए। संसदबाट पारित भएपछि सरकारले यी अध्यादेशको प्रतिस्थापन विधेयकलाई कार्यसूचिमा राखेको हो। संविधान अनुसार, संसदबाट स्वीकृत भएका अध्यादेश २६ दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण गरिनु पर्छ।
यद्यपि, भूमि सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक भने सरकारले हालसम्म पेश गर्न सकेको छैन, र यो राष्ट्रिय सभाबाट स्वीकृत नहुने सुनिश्चितता नहुञ्जेल सरकारले विधेयक संसदमा पेश नगरेको हो।
यसै बीच, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
प्रतिक्रिया