यसकारण विशेष छ कृषाका लागि ‘पिताम्बर’



आफ्नो निर्देशनको दोस्रो फिल्म ‘पिताम्बर’को साथमा दर्शकमाझ आउन लागेकी निर्देशक कृषा चौलागाई उत्साहित छिन् । किनकी, यो फिल्म उनका लागि विशेष छ ।

यो फिल्ममा उनले मल्टिस्टारर कलाकार लिएकी छिन् । प्रदिप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्रहरि, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरु यो फिल्ममा छन् ।

चैत्र २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने दाबी कृषाको छ । कृषाले यसअघि फिल्म ‘एैँचो पैँचो’ पनि निर्देशन गरिसकेकी छिन् ।

कृषाले भनिन्–‘पिताम्बर ठूलो क्यानभास भएकाले पनि पहिलो साधारण फम्र्याटको ‘एैँचो पैँचो’ नै बनाउछु भन्ने सोच आयो । दर्शकबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने पनि मैले वुझ्न् थियो । यो फिल्मबाट राम्रो प्रतिक्रिया आएपछि पिताम्बरको काम अगाडि बढाएकी हुँ ।’

‘पिताम्बर’लाई भरपुर एक्सन फिल्म भन्न कृषा रुचाउँछिन् । कृषा भन्छिन्–‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ । यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैनन् । यो फिल्म प्रदिप खड्काका लागि पनि नयाँ हो । प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पुरा गरिदिनेछ । किनकी, प्रदीपलाई पुर्ण एक्सनमा हेर्ने दर्शकको रहरलाई पूर्णता दिन्छ ।’

कृषाले एक्सनलाई किन प्राथमिकता दिइन् त ? उनी भन्छिन्–‘लामो समयदेखि फिल्महरु एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए । कतिपयले स्थानीय कथा देखाउनुपर्छ भन्दै हामी त्यता पनि लागिरहेका थियौं । एउटा यस्तो फिल्म बनाउनुपर्छ, जुन वियोन्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् । म यस्तै फिल्म बनाउन चाहन्थेँ । त्यस्तो फिल्म नआउको पनि धेरै समय भइसकेको थियो । त्यस्तो फिल्मले मासलाई हालसम्म तान्न सक्छ । मासलाई हलमा तान्न सकुँ नै फिल्मकर्मीको जित हो । त्यसकारण मासलाई हलमा ल्याउन पिताम्बर बनाएँ ।’ कृषाले यो फिल्म हेरेपछि दर्शकले सन्देश भन्दा पनि मज्जा बोकेर घर जाने कृषाको दाबी छ ।

कृषाले यो फिल्म मनोरञ्जनात्मक भएकाले दर्शकले काटेको टिकटको पैसा फिर्ता नजाने दाबी गरिन् । यो फिल्ममा मल्टिस्टारर कलाकार छन् । साथमा, नेपालमै पहिलो पटक तीन वटा क्यामेराले यो फिल्म खिचिएको छ । दर्शकले मेकिङका हिसाबले पनि फिल्म कस्तो रहेछ भनेर चासो राख्ने वुझाई उनको छ । फिल्मको कथा लेखनका क्रममा नै कृषाको दिमागमा नायक प्रदीप खड्का बसेका थिए । कृषा भन्छिन्–‘हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ । त्यसकाकारण हामीलाई दर्शकको मन र मुटुमा बसेको कलाकार चाहिएको थियो । कलाकारहरुमा पनि कोही भन्दा कोही कम नदेखिउन् भनेर हामीले मल्टिस्टारर कलाकार लिएका हौं ।’

कृषाले फिल्ममा प्रदीपका लागि एक्सन कोचको व्यवस्था गरेकी रहिछन् । कृषाले भनिन्–‘सिक्स प्याक एक्सन फिल्ममा चाहिन्छ भन्ने सोच धेरैको छ । तर, कसैको घरमा केही भयो भने उसले सिक्स प्याक विना पनि बदला लिन सक्छ । मैले, प्रदीपलाई सिक्स प्याक त बनाउन पर्दैन तर एक्सनमा आक्रामक बनाउन एक्सनको तालिम लिनुपर्छ भनेर कोचको व्यवस्था गरिदिएकी हुँ ।’

कृषा आफैलाई पनि एक्सन फिल्म बनाउन मनपर्छ । यो फिल्ममा जस्तो जोश र जागर अरु जनरामा कम हुने उनको वुझाई छ ।