लोकतान्त्रिक चोकमा रहेको चिहान कांग्रेसका नेताले कब्जा गरेको आरोप


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय निकालय संरक्षणमा कुनै पहल नगरेको बताए ।

‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ,’– उनले भने ।

रास्वपा नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले पनि सो जग्गाको विषय उठान गर्दै सरकारको ध्यानाकार्षण गराएकी थिईन् । रास्वपा नेताहरुले यस्तो आरोप लगाइरहँदा कांग्रेस नेताहरुले भने विरोध जनाएका थिए । जसको कारण केही समय संसद् बैठक अवरुद्ध भएको थियो । विरोध जनाउने कांग्रेस नेताहरुमा राजेन्द्र बजगाईँ, सुशिला थिङ, सन्तोष चालिसेलगायत थिए ।