काठमाडौ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरको प्रदर्शनले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले यस्तो बताएका हुन्। उनले भने, १५ २० हजार मान्छे सडकमा आउनु, चाहियो भन्नु यो कुनै ठूलो कुरा होइन। यसका बारेमा धेरै चर्चा गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन।
यसको पृष्ठभूमिमा सिटौलाले पूर्वराजा ज्ञानेन्द्रको ताकतबारे आफू जानकार रहेको बताएका छन्। मैले आफैंले गएर करिब एक घण्टा बसेर सम्झाइ बुझाइ गरेर बाहिर पठाएको हुँ र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन । यो (राजसंस्था) फर्किर आउँदैन। अन्त्य भएको कुरा हो। धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन, उनले भने।
सिटौलाले नारायणहिटीबाट ज्ञानेन्द्र शाह निर्मलनिवास सर्दा आफू गृहमन्त्री रहेको उल्लेख गर्दै यस बारेमा थप बिस्तार गरे। मैले भन्ने गरेको छु– किन धेरै चर्चा गर्नु । म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको छु, उनले भने।
सरकारले निर्णय गरेर पूर्वराजालाई नागार्जुनमा बस्न दिने निर्णय गरेको भन्दै सिटौलाले भने, सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालिन अवस्थामा बस्न दिएको छ। सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ।
सिटौलाले सरकारको सुरक्षासम्बन्धी निर्णयलाई पनि स्मरण गर्दै भने, सरकारले नै (पूर्वराजा ज्ञानेन्द्रको) सुरक्षाको बन्दोबस्त गरेको छ। त्यसैले यो बारेमा धेरै चर्चा गर्नु जाती होइन।
प्रतिक्रिया