राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अरुलाई उपदेश दिनुभन्दा पहिला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं सुध्रिनुपर्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले र कांग्रेसले गरेको भ्रष्टाचार नालायक र गलत हुने र प्रचण्ड आफू सत्तामा गएपछि गर्ने भ्रष्टाचार, लुटपाट सबै जायज हुने कुरा मान्न नसकिने बताएका हुन् । प्रचण्डले सिद्धान्त, नैतिकता, इमानदारिताका साथ सरकारको नेतृत्व गर्न नसकेको उनको टिप्पणी छ ।
‘त्यस्तो गलत एमालेसँग उनी दुई÷दुई चोटी किन बालकोट गए ? उनले पनि सिद्धान्त, नैतिकता, इमानदारिताअनुसार राज्य सत्तामा घुमिसकेका छैनन् । उनलाई पनि जुनसुकै मूल्य चुकाएर भएपनि, जोसित मिलेर भएपनि सत्ता चाहिन्छ । सत्तामा माओवादी चार पटक गयो त ? के–के गर्यो ? नेपाली जनताले देखेको, बुझेको, सुनेको छैनन् ?’ प्रश्न गर्दै उनले भने, ‘आफैं सुध्रिनु पर्यो नि । माओवादीले अहिले होहल्ला फिँजाएको त सत्ताबाट बाहिरिएको कारणले हो नि । सत्तामा गएको बेला गर्नुपर्थ्यो नि यस्ता काम कुरा त ।’
प्रतिक्रिया