पूर्वविशिष्टहरूलाई सुविधा दिने विधेयकप्रति शेखरको टिप्पणीः सरकारको अर्को दुष्कर्मको प्रयास


काठमाडौं, १ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी सरकारले ल्याउन लागेको विधेयकलाई ‘सरकारको अर्को दुस्कर्मको प्रयास’ को संज्ञा दिएका छन् । सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने तयारी गरेको छ । डा. कोइरालाले सो विधेयकका विरोध गरेका हुन् ।

सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस र सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा यस्तो खालको विधेयक अगाडि बढाउनुलाई उनले ‘सरकारको विपरीत बुद्धि’ भनेका छन् । उनले यस्तो खालको विधेयक अगाडि नबढाउन र बरु विशिष्टहरुलाई प्रदान गरिँदै आएको सुविधा घटाउन सुझाव दिएका छन् ।

‘विनास काले विपरित बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊँ,’ कोइरालाले सामाजिक सञ्जालमार्फत आफने धारणा सार्वजनिक गरेका छन् ।