चलचित्र विकास बोर्डको आँकडा भन्दा २ करोड बढी देखाएर फिल्म ‘होस्टेल ३’क निर्माताले फिल्मको एक साताको आँकडा सार्वजनिक गरेका छन् । आजबाट दोस्रो सातामा प्रवेश गरेको फिल्मले ६ दिनमा २ करोड २० लाख ग्रस कलेक्शन गरेको आँकडा चलचित्र विकास बोर्डको बक्स अफिसमा छ ।
फिल्मले बिहिबारसम्म साढे २ करोड ग्रस गरेको आँकलन गर्न सकिन्छ । यता, फिल्मको निर्माणपक्षले सार्वजनिक गरेको आँकडा अनुसार फिल्मले एक सातामा ४ करोड ३२ लाख ग्रस कलेक्शन गरेको उल्लेख छ ।
फिल्मले उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको छ । यो फिल्मका वितरक गोविन्द शाही हुन् ।
फिल्मको बोर्डको आँकडा र निर्माताको आँकडामा २ करोड अन्तर देखिएको छ । तर, फिल्मको लाइफ टाइम आँकडा भने सुखद हुने देखिएको छ । बिदाको दिनमा फिल्मले पाएको दर्शकको साथ अझै सुखद छ । बिहानी र मध्यान्नको शोजमा औषत व्यापार गरेको फिल्मले बेलुकी र रात्रीकालिन शोजमा भने दर्शकको साथ राम्रो पाएको छ ।
सशान कँडेलको निर्देशनमा तयार भएको फिल्मको वर्ड अफ माउथ बलियो छ । यहीकारण, फिल्मले चैत्रको केही सातापनि राम्रो दर्शक तान्ने अपेक्षा गर्न सकिन्छ ।
शंकर कोइराला कार्यकारी निर्माता रहेको फिल्ममा माधव शर्माको लेखन, अर्जुन तिवारीको छायांकन छ । फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।
प्रतिक्रिया