नाउपामा फेरि पनि विवादः रेशमद्वारा केन्द्रीय समिति बैठकको माग, बहुमतको कदर गर्न रञ्जितालाई सुझाव


काठमाडौं, । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टीको केन्द्रीय समिति बैठक माग गरेका छन् । बहुसंख्यक सदस्यले केन्द्रीय समिति बैठकको माग गर्दा पनि बेवास्ता गरिएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् । नाउपाका संरक्षक रहेका चौधरीले अब छिट्टै जनमत पार्टीसँग एकता हुने पनि बताए । सकभर सहमतिमै एकता प्रक्रिया टुङ्ग्याउन चाहेको र एकअर्कामा रहेको असन्तुष्टि, फरकम मत र विचार केन्द्रीय समितिमा छलफल होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ । उनले अब एकता प्रक्रिया कसैले रोकेर नरोकिनेसमेत बताए । एकतापछि पार्टीको नाम नागरिक जनमत पार्टी रहने र चुनाव चिन्ह ढकिया नै रहने नेता चौधरीले बताए ।

हामी प्रक्रियागत तरिकाले अगाडि बढिसकेका छौं । म यहीँ तपाईँहरुलाई जानकारी गराउन चाहन्छु– अब हामी पछाडि हट्दैनौं । अब हामी पार्टी एकीकरणको तहमा उभिइसकेका छौं । कसैले कसैको मन नदुखाऔं । एउटा निर्णय लिउँ । ठोस निष्कषमा पुर्याएर हातेमालो गरों । नागरिक जनमत पार्टीको चुनाव चिन्ह ढकिया भनेर एक ठाउँमा उभिउँ । अब यसको विकल्प छैन,’– उनले भने ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी हुन् । रञ्जिता रेशमकी श्रीमतीसमेत हुन् । पार्टीको विषयलाई लिएर रञ्जिता र रेशमबीच लामो समयदेखि मनमुटावको अवस्था सिर्जना भइरहेको छ । उनले पार्टी एकताबारेको ड्राफ्ट केन्द्रीय समितिमा राख्ने मौका पाउनुपर्ने माग गरेका छन् । संरक्षक चौधरीका अनुसार उक्त ड्राफ्टमा नाउपालाई उच्च मर्यादाक्रममा राखिएको छ । उनले भने, ‘निश्चय पनि जनमत हामीभन्दा ठूलो राष्ट्रिय पार्टी हो । हामी क्षेत्रीय पार्टी हौं । तर, मर्यादाक्रममा उहाँहरुले हाम्रो मर्यादालाई उच्च मूल्याङ्कन गर्दै यथास्थितिमा राखिदिनु भएको छ । यो भन्दा धेरै हामीले अधिकार खोजेर पनि पाउँदैनौं । जहाँसम्म लाग्छ– यो सम्झौताको ड्राफ्ट सबैजनाले हेर्नुभयो भने अत्यन्त गर्वित हुनुहुन्छ । त्यसका निम्ति पनि केन्द्रीय समितिको बैठक, म त्यो ड्राफ्ट राख्न पाउँ भनेर यसैमाफर्त अनुरोध गर्न चाहन्छु,’– उनले भने ।

नेता चौधरीले बहुमत सदस्यको मागलाई कदर गर्दै केन्द्रीय समितिको बेठक आह्वान हुनुको विकल्प नरहेको बताए । उनले आफूहरुले सबैसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको पनि बताए । ‘नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हाम्रो अध्यक्ष हुनुहुन्छ । उहाँलाई सम्मान गर्नु हाम्रो नैतिक दायित्व हो । उहाँ पनि हामीसँगै हातेमालो गर्नुहुन्छ, हामीले विश्वास लिएका छौं । केन्द्रीय समितिको बैठकमा कुरा राख्न त पाइयो नि । आफ्नो कुरा राख्नको लागि भएपनि केन्द्रीय समितिको बैठक गर्नुपर्यो । आफ्नो विषय राख्नका लागि, फरक मत राख्न पाइयो, असहमत हुन पाइयो । तर बहुमतको कदर त गर्नुपर्यो नि । प्रजातान्त्रिक, लोकतान्त्रिक पद्धतिमा बहुमतको कदर गर्नेपर्छ,’– उनले भने ।