यातायातमा नयाँ नियमको तयारी, १८ वर्षमा लाइसेन्स !


काठमाडाैं । सवारी दुर्घटना बढेपछि सरकारले चालक अनुपतिपत्र (लाइसेन्स) वितरणमा नयाँ नियम लागु गर्ने तयारी गरेको छ ।दुर्घटनाको अनुपात र त्यसको कारण पहिचान गर्दै सरकारले लाइसेन्स वितरणमा नयाँ नियम लागु गर्ने भएको छ । सवारी दुर्घटनाको तथ्यांकको विश्लेषण र विभिन्न निकायको सुझावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लाइसेन्स लिने उमेर बढाउने तयारी गरेको छ ।

 सुझाव संकलन गर्न मन्त्रालयले नयाँ सवारी तथा यातायात ऐनको मस्यौदा सार्वजनिक गरेको छ । प्रस्तावित व्यवस्था ऐन बनेपछिमात्रै कार्यान्वयनमा आउनेछन् । लाइसेन्स पाउन ८ कक्षा पास हुनुपर्ने, सवारी साधनअनुसार उमेर बढाउने र दुई पांग्रे सवारीको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम ल्याउने तयारी छ । हाल २०४९ सालमा बनेको ऐनअनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा अब ऐन परिमार्जन गर्ने तयारी गरिएको हो ।

प्रस्तावित मस्यौदाअनुसार दुई पांग्रे लाइसेन्स पाउने न्यूनतम उमेर बढाएर १८ वर्ष पुर्‍याइएको छ ।  ०४९ को ऐन अनुसार १६ वर्षमै लाइसेन्स लिन सकिने व्यवस्था थियो । ऐनअनुसार सवारी साधन अनुसार पहिलेको भन्दा दुई/दुई वर्ष उमेरहद बढाइएको छ । १८ वर्ष भएपछि मझौला सवारी साधनको लाइसेन्स पाइन्छ । यसलाई संसोधन गरेर २१ वर्ष पुगेपछि मात्रै लाइसेन्स लिन पाइने व्यवस्था प्रस्ताव गरिएको छ । ऐनको मस्यौदाअनुसार ठूला सवारीसाधनको लाइसेन्स लिन २३ वर्ष उमेर पूरा हुनुपर्नेछ । अहिले २१ वर्ष उमेर पूरा भएपछि ठूला सवारी साधनको लाइसन्स लिन सकिने व्यवस्था छ । सरकारले ६० वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिले ठूला र मझौला सवारीसाधन चलाउने अनुमतिपत्र नपाउने व्यवस्था पनि गर्ने भएको छ ।