प्रचण्ड र तत्कालीन सरकारले विदेशीको इसारामा वीरेन्द्रको वंशनाश गरेको राप्रपा नेता शाहीको आरोप


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) सिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने ‘भाइमारा’ को आरोप लगाएका थिए ।

प्रचण्डको उक्त आरोप खण्डन गर्दै राप्रपा प्रवक्ता शाहीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ। तर, यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्।’