नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व विशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतको आदेशबमोजिम त्यससम्बन्धि कानुन बनाउन बाँकी रहेको बताए । उनले अब पूर्वविशिष्टहरुको सन्दर्भमा कानुन बनाउँदा सुरक्षाबाहेक अन्य सुविधा केही पनि नदिने सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कानुन बनाउँदै गर्दा सेवा सुविधा दिने कानुन होइन, नदिने कानुन बनाउनुपर्छ । पूर्वराजालाई म सुरक्षा दिन्छु, पूर्वराष्ट्रपतिलाई म सुरक्षा दिन्छु । किनकी सुरक्षा चाहिन्छ, राज्यको जिम्मेवारी हो । तर, सुरक्षाबाहेक म केही पनि दिन्नँ । मैलेमात्र होईन, कुनै पनि प्रधानमन्त्रीलाई लहड चलेर दिन पाइँदैन भन्ने कानुन बनाउनुपर्यो,’– महामन्त्री थापाले भने ।
महामन्त्री थापाले पूर्व विशिष्टहरुलाई सुविधा दिने गरी कानुन बनाउने विषय अहिले ल्याएर सरकारले नदुखेको टाउको दुखाएको उनको टिप्पणी छ । ‘पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने भनेर आयो । यो अहिलेको लागि कतै चाहिने विषय हो त ? कहीँ कतैबाट नदुखेको कपाल डोरी लगाएर दुखाएको जस्तो,’– उनले भने ।
सरकारले पूर्व विशिष्टलाई आजीवन सुविधा दिनेगरी विधेयक ल्याउन लागेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने व्यवस्था विधेयकमा गरिएको छ ।
प्रतिक्रिया