दल र सरकारले वकिलको नेता छान्ने होईन: वरिष्ठ अधिवक्ता श्रेष्ठ


काठमाडौं, ३ चैत । वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनको आसन्न केन्द्रीय समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमणकुमार श्रेष्ठले प्रधानमन्त्री र दलहरुले वकिलहरुको नेता छान्न नसक्ने बताएका छन् । चुनावी अभियानका क्रममा आज (आइतबार) सिन्धुलीमा व्यवसायिक कानुन व्यवसायी समूहमा आवद्ध कानुन व्यवसायीहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिएलए र पीपीएलए बाट संयुक्त रुपमा प्रतिस्पर्धामा रहेको समूहका उम्मेदवारहरु दलले खडा गरेको बताएका हुन् । त्यस्तो समूहले चुनाव जितेको खण्डमा नेपाल बार र कानुन व्यवसायीहरुको इतिहासमा कालो दिन हुने उनको दाबी छ ।

‘वकिलको नेता कसले छान्ने ? वकिलको नेता वकिलले छान्ने कि राजनीतिक दलका नेताहरु र सरकारमा बसेकाहरुले ? प्रधानमन्त्रीले वकिलको नेता छान्ने हो भने अर्को समूहलाई भोट हाल्नुपर्यो । वकिलले आफ्नो नेता छान्ने हो भने हाम्रो समूहलाई भोट दिनुपर्यो । यो यहाँहरुको स्वैच्छा र अधिकारको कुरा हो । म एउटा कुरा के निवेदन गर्न चाहन्छु भने– नेपाल बारको इतिहासमा यदि अर्को समूहले जित्यो भने त्यो कालो दिन हुन्छ,’– उनले भने ।

आफूहरुको मुख्य एजेण्डा कानुन व्यवसायीको हक हित र अधिकार र बारलाई प्रभावकारी बनाउने रहेको वरिष्ठ अधिवक्ता श्रेष्ठले बताए । आफ्नो टिमले चुनाव जितेको खण्डमा जुरिमेट्रिक रिसर्च कमिटी गठन हुने बताए । युवा कानुन व्यवसायी, महिला कानुन व्यवसायी र व्यवसायिक क्षमता विस्तार गर्ने कुरामा आफूहरु प्रतिवद्ध रहेको पनि उनले बताए । बारलाई दल र सरकारको हस्तक्षेपबाट मुक्त गरिनुपर्ने बताए । ‘मुख्य कुरा के हो भने दल र सरकारको हस्तक्षेपबाट बारलाई मुक्त गर्ने कि नगर्ने ? विचारबाट माथि उठेर यहाँहरुले मतदान गर्दिनुहोला । बारलाई वकिलहरुको सही प्रतिनिधित्व गर्ने संस्थाको रुपमा विकास गर्न जरुरी छ,’– उनले भने ।