सरस्वती माविमा राखिएको शालिक प्रकरणले उग्र रुप लिँदै, डाकियो सर्वदलीय बैठक



काठमाडौं – बरहथवा नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा स्थापित वासुदेव उपाध्यायको शालिक राख्ने कि हटाउने भन्नेबारे निर्णय लिन मंगलबार सर्वदलीय बैठक बस्दैछ । बरहथवा नगरपालिका–२ स्थित सामुदायिक भवनमा बस्ने बैठकमा एमाले, कांग्रेस, माओवादी, लोसपाका प्रतिनिधिसहित स्थानीय बुद्धिजीवी र पूर्वजनप्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।


सरस्वती मावि विद्यालय व्यवस्थापन समितिले एमालेका अमरेन्द्र कुशवाह, कांग्रेसका रामविलास भारती, माओवादीका रामप्रवेश राय र लोसपाका विन्दु रामलाई दलीय प्रतिनिधिका रूपमा बैठकमा बोलाएको छ । यसका साथै बरहथवा नगरपालिका १, २, ३, ४ र १५ वडाका अध्यक्षहरु तथा पूर्वअध्यक्षहरुलाई पनि आमन्त्रण गरिएको छ ।


विद्यालय व्यवस्थापन कार्यसमितिका पदाधिकारीहरु, बरहथवा नगरपालिकाका पूर्वमेयर देवानन्द महतो, सरस्वती माविका पूर्वप्रधानाध्यापक पुहुपनारायण महतो, स्थानीय केशव खड्का, चन्द्रप्रसाद वाग्ले, रामचन्द्र सहनी, महानन्द महतो, रामउदेश महतो, महेशप्रसाद बराल, नरनारायण सहनी, रमेशप्रसाद न्यौपाने, पञ्चानन्द भारती, सुदीप उप्रेती, रघु कार्की, शंकर दाहाल र वीरेन्द्र सहनीलाई बैठकमा बोलाइएको छ ।


स्कुल परिसरमा विद्यालय व्यवस्थापन समितिको स्वीकृति नलिइकनै काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका नवराज आचार्यले आफ्नो मावलपट्टिका हजुरबुबा वासुदेव उपाध्यायको अर्धकदको शालिक स्थापना गरेपछि यसको व्यापक विरोध भइरहेको छ । स्थानीयवासी, विद्यालयका अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थीहरुले स्कुलसँग असम्बन्धित व्यक्तिको अर्धकदको शालिक आर्थिक र राजनीतिक प्रभावमा परेर राखेपछि त्यसलाई हटाउनुपर्ने आवाज प्रबल बन्दै गएको छ । चौतर्फी रुपमा विरोध भएपछि विद्यालय व्यवस्थापन समितिले सर्वदलीय बैठक बोलाएको हो ।


विद्यालय व्यवस्थापन समितिलाई झुक्याएर आचार्यले आफ्नो हजुरबुबाको शालिक राखेका हुन् । शालिक राखेको विषयमा मिडियामा समाचार आएपछि विद्यालय व्यवस्थापन समितिले आफू चोखिन हतारहतार सर्वदलीय बैठक बोलाएको हो । बैठकमा शालिक राख्नुपर्ने पक्षधर मानिसलाई धेरै बोलाइएको छ । शालिक राख्न हुन्न भन्ने पक्षका स्थानीय बुद्धिजीवी, दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको छैन ।


विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञबहादुर खड्काले पनि आफूलाई झुक्याएर शालिक स्थापना गरिएको बताउँदै आएका छन् । तर, सोही स्कुलका केही पूर्वविद्यार्थी भने सार्वजनिक स्थलमा विद्यालयसँग असम्बन्धित व्यक्तिको शालिक राख्दा आकाशै खस्दैन भन्दै कुतर्क गरिरहेका छन् । सरकारी जग्गामा पैसाकै बलमा स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक राखेको विषयमा त्यसलाई मौन स्वीकृति दिने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडाका जनप्रतिनिधिहरुमाथि अख्तियार दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि कारबाही हुनुपर्ने आवाज उठेको छ ।