चर्चित गायक दुर्गेश थापाको अर्को स्टन्ट, एसइइ परीक्षा अवधिभर स्टेज शो नगर्ने


काठमाडौं । अहिलेका चर्चित गायक दुर्गेश थापाले अबको १० दिनसम्म कुनै पनि स्टेज कार्यक्रम नगर्ने घोषणा गरेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा हुने मेला, महोत्सव र सांगीतिक कार्यक्रममा दुर्गेशलाई बोलाउने लहर नै चलेको थियो ।
गायक थापाले बिहीबारबाट सुरु हुने एसईइ परीक्षालाई मध्यनजर राख्दै १० दिनका लागि स्टेज कार्यक्रम नगर्ने निधो गरेका हुन् । ‘भोलिबाट सुरुहुन गैरहेको एसईई परीक्षामा सहभागी सम्पूर्ण भाइबहिनीहरुलाई शुभकामना दिँदै परीक्षा अवधीभर म

नेपालका कुनै पनि कार्यक्रम नलिने घोषणा गर्दछु,’ बुधबार बिहान दुर्गेशले सामाजिक सञ्जालमा लेखेका छन् ।
पछिल्लो समय उनी ‘दुश्मन हेरेको हेर्यैं’…बोलको गीतबाट चर्चित भएका छन् । उनको गीत ग्लोबल युट्युबको ट्रेन्डिङमा परेको छ । आफ्नो गायकीको विरोध गर्नेहरुलाई जवाफ दिने दुर्गेशले गीत लेख्ने र गाउने गरेको देखिन्छ । उनका गीतका शब्द र दृश्यले पटकपटक उनलाई विवादमा तानिरहन्छ भने कहिले प्रहरी हिरासतमा समेत पु¥याउने गरेको छ । दुर्गेश र भिटेन जति कन्ट्रोभर्सीमा पर्ने गायक सायदै होलान् । तर पनि उनले अहिले आफूले कुनै पनि मेला, महोत्सवमा जाँदा दुई लाख लिने गरेको, हेलिकोप्टरमा जाने गरेको भनेर स्टन्ट गर्दै आएका छन् । यही विषयलाई लिएर चर्चित गायिका ज्योति मगरले सामाजिक सञ्जालमा दुर्गेश थापालाई कटाक्ष गर्ने गरेकी छन् ।

‘दिदीबहिनी मात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा,’, ‘ह्याप्पी तिहार, चिसो बियर ‘ए निकाल गाँजा खानुपर्छ आज,’ ‘कि दुर्गेश रेलमा, कि दुर्गेश जेलमा’, ‘राजा आयो राजा, बजाइदिन्छु बाजा’, ‘आलु जस्तो गायक’ दुर्गेशका चर्चित र विवादास्पद गीत हुन् ।