नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति क्षमा मागेका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा मागेका हुन् ।
उनले आफूले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
‘यही चैत ३ गते विशेष समय मैले अभिव्यक्त गरेको धारणा संसद्को हैसियतले विशेष समयमा अभिव्यक्त गरेको धारणा यो धारण पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक पनि धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु’, घिमिरेको भनाई छ ।
घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । उनले भनेका थिए- ‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ ।’ उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेका थिए। त्यसबेला पनि उनको अभिव्यक्ति विवादित भएको थियो।
प्रतिक्रिया