स्ववियू निर्वाचनः पश्चिमाञ्चल क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार धामी निर्वाचित


काठमाडौं, ६ चैत । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिमा प्रकाश धामी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका धामी ७ सय १६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका अनुप न्यौपानले ४ सय ४९ मत प्राप्त गरेका छन् ।

धामी सिभिल चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको प्रमुख एजेण्डाहरुमा सबल कक्षा,बलियो सिकाइको आधार भन्ने मूल नाराका साथ कक्षाकोठा वान स्टप सोलुसनको नयाँ अवधारणा अगाडि सारेका थिए । विगतका वर्षहरूमा पनि विद्यार्थीहरूका लागि सेवामा समर्पित हुँदै सबै विद्यार्थीहरूलाई प्रभावित पार्ने र विद्यार्थी आन्दोलनलाई नै नयाँ सन्देश दिने काम गर्दै आएका धामीले स्ववियु निर्वाचनमा बाजी मारेका हुन् ।

त्यस्तै, सचिवमा अखिल (क्रान्तिकारी) का हरिकृष्ण थापा र कोषाध्यक्षमा पनि अखिल (क्रान्तिकारी) कै उम्मेदवार निर्वाचित भएका छन् ।