काठमाडौं । बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन् । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएको छ । परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार) मा छन् ।
परीक्षा सञ्चालनका लागि देशभर ३० हजार सुरक्षाकर्मीसहित ७७ हजार आठ सय कर्मचारी खटिएका छन् । परीक्षामा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६ सय र सबैभन्दा कम मनाङबाट ४३ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा ९० दिनभित्र अर्थात् ७ असारमा प्रकाशन गर्ने जनाएको छ ।
प्रतिक्रिया