संसदमै उठ्यो महायज्ञ गर्न दलित परिवारको उठिबास लगाएको घटना, कारबाहीको माग


काठमाडौं – प्रतिनिधिसभा बैठकमा सिरहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न दलित परिवारमाथि उठिबास लगाएको विषय उठेको छ । बिहीबारको बैठकमा कांग्रेसका सहमहामन्त्री जीवन परियारले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको बताउँदै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष यादवले जेसीबी लगाएर दीपक मरिकको घर भत्काएको आरोप छ। बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् ।

मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ । औरहीस्थित हुलाकी सडकछेउमा चैत १७ देखि हुन लागेको ‘विष्णु महायज्ञ’ का लागि पूजास्थलनजिकै रहेको दलित परिवार अहिले विस्थापित भएको छ । आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा टहरो बनाइदिएको छ ।

गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार गरी गैरकानुनी हर्कत र अन्याय भइरहँदासमेत गाउँमा रहेको चौकीका प्रहरी र स्थानीय अगुवाले मौन स्वीकृति जनाएका छन् ।

औरही गाउँपालिकामा सरसफाइको काम गर्ने दीपक मलिक डोम र अनिता मलिक डोमले जागिरबाट निकालिने डरले उजुरीसमेत गर्न सकेका छैनन् । अछुत भन्दै डोम समुदायका दीपक र अनितासहित सातजनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब पाँच सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् । यो घटनाको अहिले चौतर्फी विरोध भइरहेको छ ।