यो वर्ष धेरै फिल्मी पण्डितहरुले विश्लेषण गर्न नसकेका फिल्महरुले बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । यो वर्ष रिलिजमा आएका ‘बोक्सीको घर, १२ गाउँ, पूर्ण बहादुरको सारङ्गी’ लगायतका फिल्मको व्यापारले धेरैलाई अचम्मित बनाइदियो ।
अहिले, अर्को एक फिल्म हलमा लागिरहेको छ । जसको व्यापारले फेरि एकपटक दर्शक तथा फिल्मीकर्मीमा तरंग पैदा गरिरहेको छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘अञ्जिला’ हलमा लागिरहेको छ । यो फिल्म रिलिज अगाडि धेरैले यसले दर्शक हलसम्म तान्न सक्छ भनेर विश्वास गरेका थिएनन् । तर, फिल्म रिलिज भएपछि यसले दर्शकको ठूलो भेल हलसम्म तानिरहेको छ । यहीकारण, फिल्मको रात्रिकालिन शोजहरु समेत हाउसफूलका साथ चलिरहेको छ ।
फिल्मले पूर्वका स्टेशनहरुमा अझै बढी व्यापार गरेको छ । काठमाडौंका हलहरुमा पनि बेलुकी र रात्रिकालिन शोजहरुमा दर्शकको उपस्थिती बाक्लो छ ।
एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित रहेर तयार पारिएको यो फिल्मको व्यापारले हलचल पैदा गरिदिएको छ । नपत्याउने खोलाले बगाउँछ भने जस्तै यो फिल्मको व्यापारले फेरि एक पटक दर्शकको ध्यान तान्न सफल भएको खण्डमा फिल्म चल्छ भन्ने देखाएको छ ।
प्रतिक्रिया