राजागञ्जः विदेशमा तारिफ, नेपालमा हरिविजोग



शुक्रबारदेखि रिलिजमा आएको दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ले नेपाली बक्स अफिसमा व्यापार गर्न नै सकेन । फिल्म हेर्नका लागि शुक्रबार र शनिबार पनि दर्शक हलसम्म आएनन् । फिल्मको लाइफ टाइम कलेक्शन केही लाखमा सिमित हुने देखिएको छ ।

दयाहाङ राई, विजय बराल, निकिता चण्डक, आशा मगराती जस्ता कलाकारहरुको उपस्थितीले पनि फिल्मलाई बलियो बनाउन सकेन । बरु, यो फिल्मसँग नै रिलिजमा आएका ‘अञ्जिला र आउटलः दफा २१९’ले व्यापार राम्रो गरिरहेका छन् ।

यो फिल्मले विदेशमा थुप्रै तारिफ पायो । नाम चलेका फेस्टिभलहरुमा यो फिल्म प्रदर्शन भयो । केही महोत्सवमा त दर्शकले १० मिनेटसम्म उभिएर सम्मान गरेको खबरहरु पनि आए । तर, नेपालमा भने हल खाली भयो ।

प्रधानमन्त्रीको नाम उच्चाहरण गरेको दृश्य सेन्सर बोर्डले काट्न लगायो भनेर चर्चा भयो । फिल्म चल्नु अगाडि राम्रै होहल्ला भयो । तर, फिल्मको व्यापार कमजोर भयो ।

आखिर, विदेशमा आयोजना भएका महोत्सवमा चौतर्फी चर्चा बटुलेको फिल्म नेपालमा किन कमजोर भयो होला ? के निर्देशक दीपक रौनियार र उनको टिमले समीक्षा गर्छ होला त ?