पैसाका अगाडि एमाले नेताहरूको बोली बन्द, सरस्वती माविमा असम्बन्धित व्यक्तिको शालिक राख्न सहीछाप


काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती मावि परिसरमा स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक स्थापित भएको विषयले उग्र रूप लिएको छ । हजरियाका स्थानीयहरू दुई कित्तामा उभिएका छन् । स्कुलसँग कुनै साइनो नै नजोडिएका र शून्य योगदान भएका वासुदेव उपाध्यायको शालिक हटाउन जोडदार आवाज उठे पनि स्थानीय केही एमाले नेताहरूको पैसाको अगाडि बोली बन्द भएको छ ।

हाल काठमाडौं बस्दै आएका करोडपति व्यवसायी नवराज आचार्यले आफ्नो मावलीपट्टिका हजुरबुबाको अर्धकदको शालिक विद्यालय व्यवस्थापन समितिलाई झुक्याएर राखेका थिए । सो विषय विवादमा परेपछि आचार्य अहिले जसरी भए पनि शालिक स्कुल परिसरमै राख्ने खेलमा लागेका छन् । त्यसका लागि उनले स्थानीय माओवादी र एमालेको एउटा समूहलाई प्रभावमा पारेका छन् ।

यसको पुष्टि मंगलबार बसेको सर्वदलीय बैठकले पनि गरेको छ । कांग्रेस, एमाले, माओवादी, लोसपासहित पाँच वडाका जनप्रतिनिधि र पूर्वजनप्रतिनिधि, स्कुलको सरोकारवाला पक्षसहित बसेको बैठकमा सरस्वती माविमा असम्बन्धित व्यक्तिको शालिक राख्ने विषयबारे विवाद भएको थियो । स्थानीय कांग्रेस र एमालेको एउटा पक्षले जुनसुकै हालतमा शालिक हटाउनुपर्ने अडान राखेपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो ।
बैठकमा एमालेका अमरेन्द्र कुशवाह, कांग्रेसका रामविलास भारती, माओवादीका रामप्रवेश राय र लोसपाका विन्दु रामसहित विद्यालय व्यवस्थापन कार्यसमितिका पदाधिकारीहरू, बरहथवा नगरपालिकाका पूर्वमेयर देवानन्द महतो, सरस्वती माविका पूर्वप्रधानाध्यापक पुहुपनारायण महतो, चन्द्रप्रसाद वाग्ले, रामचन्द्र सहनी, महानन्द महतो, रामउदेश महतो, महेश प्रसाद बराल, नरनारायण सहनी, रमेशप्रसाद न्यौपाने, पञ्चानन्द भारती, सुदीप उप्रेती, रघु कार्की, शंकर दाहाल र वीरेन्द्र सहनी उपस्थित थिए ।

अहिले एमालेका स्थानीय नेता पञ्चराम भारती, शंकर दाहाल, सरस्वती माविका पूर्वप्रधानाध्यापकसमेत रहेका पुहुपनारायण महतो जसरी पनि शालिक राख्नुपर्छ भन्ने कित्तामा उभिएका छन् । यस विषयमा छलफल गर्न उनीहरूको बिहीबार गुटभेला बसेको थियो । भेलामा शालिक राख्ने विषयलाई धेरै विवादमा नतान्न आन्तरिक सहमतिसमेत भएको बुझिएको छ । एमालेका केहि नेता हरु स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक राख्न नहुने पक्षमा उभिएका छन् । स्कुलसँग कुनै सम्बन्ध नै नरहेका व्यक्तिको शालिक राख्दा भोलिका दिनमा स्कुल स्वार्थको खेलमैदान बन्ने अधिकांश अभिभावक र विद्यार्थीको भनाइ छ ।

दुई दशक अगाडिसम्म सरस्वती माध्यमिक विद्यालयको छुट्टै वैभव थियो । वि.सं २०१९ स्थापना गरिएको विद्यालयका संस्थापक डिल्लीबहादुर गिरी र नन्दलाल गिरी हुन् । तर अहिले चरम राजनीतिका कारण विद्यालयको प्रतिष्ठा र साख गुम्दै गएको छ । तर सरकारी जग्गामा पैसाकै बलमा स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक राखेको विषयमा त्यसलाई मौन स्वीकृति दिने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडाका जनप्रतिनिधिहरूमाथि अख्तियार दुरुपयोग गरेको आरोपमा कारबाही हुनुपर्ने आवाज उठेको छ ।