स्ववियु अध्यक्ष लाई प्रचण्डले दिए बधाइ


काठमाडौँ- विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष रोहित यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाइ दिएका छन्। प्रचण्डले यादवको जीतलाई “हिस्ट्री बनाएको” भन्दै उनलाई बधाई दिएका हुन्।

हुलाकी राजमार्ग केन्द्रित अभियानमा रहेका प्रचण्डले महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन परिणामलाई ठूलो सन्देशको रूपमा लिएका छन्। उनले भने, थ्याङ्क् यु रोहित, एउटा हिस्ट्री बन्यो। महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको हामीले, एउटा इतिहास बन्यो। देशभरि एउटा सन्देश गइसक्यो। भोलि हामी धेरै राम्रो गर्न सक्छौं।

टेलिफोन कुराकानीमा यादवले भने कि प्रचण्डको अभियानका क्रममा मोरङ पुगेकै दिन आफूलाई जितको महसुस भएको थियो। उनले थपे, तपाईंले यहाँ खुट्टा टेक्दा नै जितको महसुस भइसकेको थियो। पहिले सम्मेलनमा पनि ल्याउन चाहेको थिएँ, तर त्यतिबेला समय मिलेन।

मंगलबार भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका रोहित यादव १,११८ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेस निकट नेविसंघका प्रज्ज्वल विष्ट (हाक्कु) ले १,०७५ मत प्राप्त गरे। नेकपा (एमाले) निकट अनेरास्ववियुका अनीश बोगटीले २३२ मत ल्याए। अध्यक्ष पदमा स्वतन्त्रसहित ७ उम्मेदवार प्रतिस्पर्धा गरेका थिए।

स्ववियु सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर र कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान निर्वाचित भए। क्रान्तिकारीले प्रत्यक्षतर्फ सदस्य एक पदमा जित हासिल गरेको छ, जबकि बाँकी सदस्य पदमा नेविसंघ विजयी भएको छ।

अखिल क्रान्तिकारीले २०६५ पछि महेन्द्र मोरङमा स्ववियु अध्यक्ष जितेको हो। २०६५ मा अखिल क्रान्तिकारीका जयराम सन्दास सभापति निर्वाचित भएका थिए, र त्यस समयमा अखिल क्रान्तिकारी नेकपा (एमाले) निकट अनेरास्ववियुसँग मिलेर उम्मेदवारी दिएको थियो।