आदित्यनाथलाई सुटुक्क भेटेपछि मधेशका मुख्यमन्त्री सिंह ‘रेडजोन’ मा, उठ्यो कारबाहीको आवाज


काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् । उनले बिहीबार भारत पुगेर योगीसँग भेटघाट गरेका थिए । मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली कांग्रेसका पूर्वसांसद अभिषेकप्रताप साहले पनि योगीसँग भेट गरेका छन् ।

भेटको सम्पूर्ण चाँजोपाँजो पूर्वसांसद साहले मिलाएका थिए । कपिलवस्तुका साहको आदित्यनाथसँग हार्दिक सम्बन्ध छ । योगी आदित्यनाथसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्री सिंहले भेटवार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत् सम्भावनाको विषयमा छलफल भएको उनको दाबी छ । ‘रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न पुग्ने पर्यटकका लागि जनकपुरधाम अनिवार्य गन्तव्य बन्नुपर्ने र मधेश प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग विषयमा केन्द्रित भेटघाट सकारात्मक रह्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आदित्यनाथसँग सुटुक्क भेटेको समाचार बाहिरिएपछि विवादमा तानिएका सिंहले बिहीबार रातिदेखि नै फेसबुक पेज लक्ड गरेका छन् । नेपालको संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न संघीय सरकारको स्वीकृति लिनुपर्छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहको भारत भ्रमणबारे संघीय सरकारलाई जानकारी नै छैन ।

संघीय सरकारको अनुमतिबिनै भारत गएका मुख्यमन्त्री सिंहले योगीसँग ‘रामायण सर्किट र सीता सर्किटको विकासका लागि उत्तर प्रदेश सरकारको सहयोग’ विषयमा कुराकानी गरेको उल्लेख गरेर केन्द्र सरकारलाई चुनौती दिएका छन् । नेपालको संविधानअनुसार वैदेशिक सहयोगसम्बन्धी अधिकार संघीय सरकारलाई मात्र छ, जसले उनको यो कदमलाई थप विवादित बनाएको छ । सिंह सिके राउतको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका हुन् ।

मधेश प्रदेशमै उनलाई सत्तारुढ कांग्रेसले पूर्ण विश्वास गरेको छैन । तर लुम्बिनी कांग्रेसका नेताहरूसँग सम्बन्ध विस्तार गरेर उनले योगी आदित्यनाथलाई भेटेका हुन् । आदित्यनाथबारे संघीय सरकार रुष्ट छ । केही समयअघि राजावादीको आन्दोलनमा योगी आदित्यनाथको तस्किरअंकित पोस्टर प्रयोग भएको थियो । उनी नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा छन् ।

मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले पटकपटक अमेरिका भ्रमणका लागि संघीय सरकारसँग अनुमति माग गर्दा पनि पाएका थिएनन् । त्यसबेला पनि प्रधानमन्त्री केपी ओली नै थिए । अहिले पनि ओली नै प्रधानमन्त्री छन् । सत्तारुढ कांग्रेस मुख्यमन्त्री सिंहसँग बिच्किएकाले केही समयभित्रै मधेशको सरकार उथलपुथल हुने प्रबल सम्भावना रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । जनमतलाई विस्थापित गरेर मधेशमा उपेन्द्र यादवको जसपा नेपाल सत्तामा कमब्याक हुने पर्खाइमा छ ।