राजा रोक्न एमाले पनि मैदानमा, सरकारको नेतृत्व गरेको दलको हरिबिजोग


काठमाडौं – एमाले अहिलेको सत्तारुढ दल हो । प्रधानमन्त्री केपी ओली एमाले अध्यक्ष पनि हुन् । तर सोही पार्टीका महासचिव शंकर पोखरेलले पार्टीलाई सडकमा ओर्लिन निर्देशन दिएका छन् । सरकारकै नेतृत्व गरेको दल सडक आन्दोलनमा उत्रिनुलाई जनताले भने डबल स्ट्यान्डर्डका रूपमा लिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुको पछिल्लो सक्रियताले गणतन्त्रवादी दलहरु सशंकित भएका छन् । पूर्वराजा शाहले गत फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरका दिएको वक्तव्यसँगै राजावादीहरु सक्रिय भएका छन् भने गणतन्त्रवादीहरू झस्किएका छन् । कतै राजा आइहाल्छन् कि भन्ने भय र त्रासमा राजनीतिक दलहरू छन् ।

माओवादी, एकीकृत समाजवादीले त चैत १५ गते विशाल प्रदर्शन गर्ने निर्णय नै गरेका छन् । सत्ताकै नेतृत्व गरेको एमाले पनि चैत ११ गतेबाटै सडकमा ओर्लिने भएको छ । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कँदा स्वागत गर्न उर्लेको जनसागर देखेर पनि सत्तारुढ एवं गणतन्त्रवादी दलहरु झस्किएको अनुमान गर्न सकिन्छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार जुम बैठकमार्फत् जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका छन् । एमालेले आगामी चैत ११ गते देशैभर प्रतिगामी कुप्रयासबारे जनसचेतना कार्यक्रम गर्ने भएको छ ।

एमालेले चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापाबाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने एमालेको तयारी छ । चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने भएको छ ।

राजसंस्था पुनःस्थापनाका लागि भन्दै राप्रपा, नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वमा भिन्नभिन्नै संघर्षका कार्यक्रम गर्ने तयारी भइरहेका बेला एमालेले अहिलेको व्यवस्थाका पक्षमा आन्दोलन गर्न लागे पनि सरकारकै नेतृत्व गरेको दलको यो निर्णयलाई जनताले उचित मानेका छैनन् । आफैंले हटाइसकेको राजसंस्था आउने हो कि भनेर एमाले जस्तो दल पनि भयभित देखिनुलाई धेरैले आश्चर्य मानेका छन् । अहिलेसम्म कांग्रेस मात्रै राजावादीको आन्दोलनको खिलापमा उत्रिएको छैन । साे पार्टीमा हिन्दु राष्ट्र चाहिन्छ भन्नेकाे संख्या बढी छ ।