वहिष्कार भोगिरहेका प्रकाशलाई ‘वसन्त साँझ’बाट दर्शक फर्किने विश्वास



गायकबाट नायक हुँदै निर्देशक बनेका प्रकाश सपुतलाई अहिले सामाजिक संजालमा बहिष्कार गर्नुपर्छ भन्ने स्वर सुनिएका छन् । एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेपछि उनीमाथि थुप्रै सामाजिक संजाल प्रयोगकर्ता आक्रोशित बनेका छन् । उसो त सपुतको अहिले ‘दशा’ चलिरहेको भनेर विश्लेषण पनि हुने गरेको छ ।

फिल्म ‘वसन्त’को टिजर र गीतले समेत फिल्मको हाइप बनाउन नसकेपछि गायक तथा निर्देशक सपुतले नयाँ कदम चालेका छन् ।

भोलि सार्वजनिक हुन लागेको फिल्म ट्रेलरको हाइप कस्तो बन्छ हेर्न बाँकी छ । तर, ‘वसन्त साँझ’ आयोजना गर्दै सपुतले फिल्मको हाइप बनाउन खोजेका छन् ।

भोलि बेलुका दर्शकसँग बसेर नै फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी उनको छ । जहाँ, शान्तिश्री परियारदेखि नायिका स्वस्तिमा खड्काले आफ्नो प्रस्तुति दिनेछन् ।

सामाखुशीमा आयोजना गर्न लागिएको यो कार्यक्रमबाट फिल्मको हाइप बढ्ने र आफूमाथि भइरहेको बहिष्कारको अभियान पनि कमजोर हुने उनको सोच छ ।

चैत्रको २२ गतेबाट यो फिल्म हलमा लाग्दैछ । फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने विश्वास गरिएको छ ।