काठमाडौं – सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीबास गराएको घटनामा कमजोरी भेटिएपछि सिडिओ दाहाल कारबाहीमा परेका हुन् । घटनाप्रति संघीय संसद्का सांसद, प्रदेशसभाका सांसददेखि विभिन्न संघसंस्थासम्मले आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठन र दोषीमाथि कारबाहीको माग उठेका बेला गृहमन्त्री रमेश लेखकले उनलाई गृह तानेका हुन् ।
गाउँपालिकाको अध्यक्षकै नेतृत्वमा छुवाछूत र विभेदको घटना भएको सार्वजनिक भएपछि त्यसबारे थप जानकारी लिन सिरहाका प्रमुख जिल्ला अधिकारी दाहाल र सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डित पनि पुगेका थिए । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आउने जानकारी पाएसँगै गाउँपालिकाका अध्यक्ष शिवजी यादवसहित तथाकथित बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी प्रमुख नै घटनास्थल पुगे पनि आरोपीहरूसँग भने सम्पर्क भएनन् । महायज्ञ गर्न बनाइएको मण्डप नजिकै रहेको दीपक मरिकको घर प्रधानमन्त्री आवास कार्यक्रमअन्तर्गत पाँच वर्षअघि निर्माण गरिएको थियो । दलितको बसोबास र आउजाउले महायज्ञ अपवित्र हुने भन्दै बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादवले दीपकको घरमा डोजर मात्र चलाएनन्, घर रहेको ठाउँको माटोसमेत ‘अछूत’ हुने भन्दै ताछेर फाल्न लगाएका थिए ।
दलित परिवारलाई उठीबास लगाएर पाँच सय मिटर पर खोलानजिक एकान्तमा झुपडी बनाएर बस्न लगाइएको छ । दोषीमाथि कारबाहीको माग भइरहेकै बेला ज्यादती गर्ने आयोजक, गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षले बिहीबार पीडित दीपक मलिक डोमको झुपडीमा पुगेर धम्की दिई जबर्जस्ती कागज गराएका छन्, जसमा आफ्नो घर राजीखुसीले भत्काउन दिएको उल्लेख छ । उनीहरूले थप केही नबोल्न र बोले ठीक नहुने भन्दै धम्की दिएपछि पीडित परिवार त्रासमा छ ।
घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबार बिहानै दीपकको झुपडीमा पुगेर जबर्जस्ती कागज गराएका आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष यादव त्यसपछि भने फरार छन् ।
प्रतिक्रिया