२२ लाखको अवैध भेप मिनबहादुरका लागि टाउको दुःखाई बन्दै, फेरि जन्म्यो अर्को काण्ड


काठमाडौं – भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ फेरि अर्को झन्झटमा फसेका छन् । अर्बपति यी व्यापारीको नाम एकपछि अर्को काण्डमा जोडिएपछि उनका प्रतिस्पर्धी व्यापारी दंग परेका छन् । छोटो समयमै नेपालको चर्चित अर्बपति व्यापारी बन्न सफल मिनबहादुर सुरुमा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।

ललिता निवासको सरकारी जग्गा आफ्नो नाममा ल्याएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनी केही महिनासम्म प्रहरी हिरासतमा समेत बस्न पुगे । तत्कालीन माओवादी र एमाले गठबन्धनको सरकारका पालामा उनी धरौटी बुझाएर हिरासतमुक्त बनेका थिए ।

यद्यपि ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकिएको छैन । त्यसपछि उनी सत्तारुढ दल एमालेको पार्टी मुख्यालय भवन निर्माण गरिदिने र त्यसका लागि जग्गादानको विषयमा विवादमा परे । सरकारको नेतृत्व गरिरहेको दलकै पार्टी कार्यालय भवन बनाइदिने भनेर भ्रष्टाचारका लागि सौदाबाजी गरेको उनीमाथि आरोप लाग्यो । यस विषयमा सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । अदालतले एमाले र मिनबहादुरकै पक्षमा फैसला गरेको छ ।

यतिबेला उनी सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खुर्सानीबारीबाट बरामद भएका ७४० थान अवैध विद्युतीय सिगरेट (भेप) का कारण चर्चामा छन् । भाटभटेनी सुपरमार्केटका लागि भनी ल्याइएको कन्टेनरभित्रको सामानमा भेप बरामद भएको थियो । प्रहरी चेकपोस्ट खुर्सानीवारीले ५५ वटा ठुलो डब्बामा रहेको ५५० र ३८ साना डब्बामा रहेको १९० वटा गरी ७४० वटा भेप बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद भेपको हालको बजार मूल्य २२ लाख २० हजार हुन आउँछ । तर यही २२ लाख रुपैयाँको भेप अर्बपति व्यापारीका लागि काउसो बनेको छ । भेपका विषयमा माओवादी सांसद गंगा कार्की र रास्वपा सांसद मनिष झाले प्रतिनिधिसभाकै बैठकमा मिनबहादुर गुरुङको नाम किटेर उनलाई उन्मुक्ति दिन नहुने माग गरेपछि यो विषयले चर्चा परिचर्चा पाएको हो । नत्र प्रहरीले भेपमा कसको संलग्नता छ भन्ने अझै भेउ पाउन सकेको छैन । लगत्तै भाटभटेनीका सञ्चालक गुरुङले सो अवैध भेप आफ्नो नभएको प्रस्टीकरण दिएका छन् ।

बिहीबार उनले विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको नभएको दाबी गरेका छन् । प्रतिनिधिसभामा व्यक्त भएका धारणा तथ्यमा आधारित हुनुपर्ने गुरुङको भनाइ छ । ‘तातोपानी भन्सारबाट सिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र पर्दैन ।

तातोपानीबाट सिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनि राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो,’ उनले भनेका छन्, ‘मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आमनागरिकमा अपिल गर्न चाहन्छौँ ।

पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ ।’ प्रहरीले चालक भोटेकोशी गाउँपालिका– २ बस्ने वर्ष ३४ का प्रवीण खत्रीसहित कन्टेनर नियन्त्रण लिएको छ । भेप र कन्टेनर दुवै राजस्व कार्यालय हरिहरभवनलाई जिम्मा लगाइएको छ ।