काटमाडौं । कैलालीको घोडाघोडी–९ स्थित सिमली जंगलमा दुई सातादेखि बस्दै आएका १५० जना विदेशी नागरिकलाई २४ घन्टाभित्र जंगल छोड्न आदेश दिइएको छ ।

सरकारको कुनै पनि निकायबाट अनुमति नलिई बसिरहेको थाहा पाएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घन्टाभित्र ठाउँ छाड्न आदेश दिएका हुन् । निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनीसमेत दिइएको छ । ‘रेन्बो फेमली ग्यादरिङ’ नामक समूहले आफूहरु प्रकृतिमा रमाउने भएको दाबी गरेको छ ।
पर्यटन भिसामा नेपाल आएका अमेरिका, चीनसहित विभिन्न युरोपेली मुलुकका नागरिक अर्धनग्न र जंगली शैलीमा बसिरहेको भेटिएको छ । केही संख्यामा भारतीय नागरिक पनि रहेको पाइएको छ । घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरासमेत सार्वजनिक भएको छ । सोही विषयमा समाचार सम्प्रेषण गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीबार दिउँसो हातपात भएको छ ।

मिश्रमाथि घोडाघोडी नगरपालिका–१० को पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका–१ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले हातपात गरेका हुन् । मिश्रले विदेशी नागरिक घोडाघोडीको जंगल क्षेत्रमा बसेर अस्वाभाविक र रहस्यमय गतिविधि गरिरहेको र त्यसमा होटल व्यवसायी शाहले समन्वय गरिरहेको समाचार लेखेका थिए ।
प्रतिक्रिया