सरस्वती मावि परिसरमा राखिएको शालिकबारे भ्रम छर्दै आचार्य, यसरी सबैलाई बनाइँदैछ मूर्ख



काठमाडौं – बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालय परिसरमा राखिएको वासुदेव उपाध्यायको शालिकबारे जनमानसमा नयाँ भ्रम छर्न थालिएको छ । हजुरबुबाको अर्धकदको शालिक स्थापना गर्ने व्यवसायी नवराज आचार्यले मन्दिर हातामा शालिक राखिएको र विद्यालय व्यवस्थापन समितिको अनुमतिमा शालिक राखिएको भन्दै प्रचार थालेका छन् । त्यसका लागि उनले स्थानीय केही मिडियाको सहारा लिएका छन् ।

हरिवन, बरहथवातिरका केही पत्रकारलाई गाडीमा हालेर सरस्वती माविमा लगेर तस्बिर र भिडियो देखाउने अनि आफू निकट केही स्थानीयसँग कुराकानी गर्न लगाएर भ्रम छर्ने प्रयास गरिएको छ ।
कतिसम्म सफेद झुट प्रचार गरिएको छ भने उपाध्यायको शालिक स्कुल परिसरमा नभई मन्दिर हातामा राखिएको छ । जबकि सरस्वती मन्दिर नै स्वयं विद्यालय परिसमै बनाइएको छ । त्यसका लागि १८ लाख खर्च गरिएको र चार सय साइकल स्ट्यान्ड राख्न विद्यालय व्यवस्थापन समितिले अनुनय विनय गरेपछि आफूले आर्थिक स्रोत जुटाएर मन्दिरका साथै शालिक स्थापना गरिएको दाबी आचार्यले गरेका छन् । तर वास्तविकता भने ठ्याक्कै उल्टो छ ।


सरस्वती माविमा एसएलसी उत्तीर्ण गरेर काठमाडौंमा उच्च अध्ययनका साथै व्यापार व्यवसायमा लागेर मनग्य पैसा कमाएपछि आचार्यले आफूलाई पालनपोषण गरेका मावलीपट्टिका हजुरबुबा र हजुरआमाको नाममा कीर्ति राख्न चाहन्थे । सोहीअनुसार उनले हजरियाकै केही एमाले र माओवादीका नेता कार्यकर्तालाई वशमा पारेर सुरुमा विद्यालय परिसरमा सरस्वती मन्दिर बनाउने निर्णय गर्न लगाए ।

सँगसँगै उनले मन्दिर अगाडि हजुरबुबा वासुदेव उपाध्यायको शालिक राख्न चाहेको बताए । सुरुमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अस्वीकार गरे । तर आचार्यले एमाले र माओवादीका जिल्लास्तरका नेताको शक्ति प्रयोग गरे । त्यसपछि शालिक राख्न दिने विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको बोली अलि नम्र हुन थाल्यो ।

बाहिर बोल्दा कुनै पनि हालतमा राख्न हुँदैन भन्ने, भित्रभित्र राख्न सहमति दिएपछि आचार्यले दुई महिनाअघि शालिक स्थापना गरेका हुन् ।


तर विद्यालय परिसरमा स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक राखिएको विषय व्यापक आलोचित हुन थाल्यो । त्यसपछि मात्र विद्यालय व्यवस्थापन समितिले सरस्वती मन्दिर निर्माण गर्न दिने र तर शालिक राख्न नदिने निर्णय ग¥यो । सो निर्णयलाई गुपचुपमै राखियो । अहिले देशदेखि विदेशबाट समेत विरोध हुन थालेपछि विद्यालय व्यवस्थापन समितिको बोली फेरिन थालेको छ ।

समितिका एक सदस्यले शालिक हटाउन भन्दा आचार्यले यदि शालिक हटाउने हो भने सरस्वती मन्दिर नै भत्काएर अन्यत्र लैजाने धम्की दिन थालेका छन् ।


यो विषय सर्वत्र आलोचित हुन थालेपछि सरस्वती माविका पूर्वविद्यार्थीहरूले मुख खोल्न थालेका छन् । उनीहरू शालिक हटाउनुपर्ने बहसमा सरिक भएका छन् । एमाले र माओवादीबाट सक्रिय राजनीति गरेका बाहेक अन्य विद्यार्थीहरूले शालिक राखेकामा असन्तुष्टि जनाएका छन् । पूर्वविद्यार्थी बालेश्वर सिंह (बिपी) ले त शालिक कसैलाई नसोधी बागमती खोलामा लगेर फलिदिनुपर्ने बताएका छन् ।

‘कसैलाई सल्लाह दिनु पर्दैन। शालिक लगेर बागमती खोलामा फालिदिनु पर्छ। यदि शालिक नै राख्ने हो भने स्कुल बन्नुभन्दा अगाडि एउटा रुखमुनि दुई–चारजना विद्यार्थीदेखी क ख ग घ सुरु गर्ने पिप्राभित्ता निवासी गणेशसिंह भुमिहार सरको शालिक बनाउँ न त,’ उनले प्रस्ताव गरेका छन् ।