के हो ‘पिताम्बर’ उत्सव ?



निर्देशक कृषा चौलागाइको महत्वकांक्षी प्रोजेक्ट ‘पिताम्बर’ रिलिज हुन तीन साता मात्र बाँकी छ । यो फिल्मको प्रचारमा यसका कलाकार तथा निर्माणपक्ष लागिपरेका छन् । यो फिल्मको ट्रेलर पनि दर्शकहरुका लागि प्रतिक्षित छ । चैत्र २९ गतेबाट यो फिल्म रिलिजमा आउँदैछ ।

यसको निर्माणपक्षले भने दर्शकसँग नै ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको छ । चैत्रको १५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘पिताम्बर उत्सव’ हुँदैछ । यो उत्सव बेलुकी ५ बजे सुरु हुनेछ ।

भव्य स्टेज र केही एलइडी लगाएर यो फिल्मका मेकरले ट्रेलर रिलिज गर्न लागेका हुन् । जसमा फिल्ममा सबै कलाकार तथा प्राविधिकहरुको उपस्थिती रहने निर्माणपक्षले बताएको छ ।

निर्देशक कृषा चौलागाइले भनिन्–‘यो दर्शकको फिल्म हो । यसैले, हामीले दर्शकसँग नै बसेर ट्रेलरको खुशी साट्ने तयारी गरेका हौं ।’

विशाल चौलागाइको लगानीमा बनेको यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्रहरि, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।

नेपालमै पहिलो पटक यसरी फिल्मको ट्रेलर रिलिज गर्न लागिएको दाबी निर्माणपक्षले गरेको छ ।