एमाले पत्रकारमा पनि देखियो पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली गुट


काठमाडौं – एमाले निकट प्रेस चौतारीको दशौं महाधिवेशन आइतबारदेखि विराटनगरमा सुरु हुँदैछ । तर महाधिवेशनभन्दा अगाडि नै बालुवाटार अर्थात् प्रधानमन्त्री केपी ओलीले गणेश पाण्डेलाई अध्यक्षको टीका लगाइदिएपछि अर्का आकांक्षी राजेश राईले चुनौती दिएका छन् । राईले महाधिवेशन सुरु हुनुअघि लामो प्रेस नोट जारी गर्दै निर्वाचनकै माध्यमबाट नयाँ नेतृत्व चयन हुनुपर्ने अडान राखेका छन् ।

अहिले बाहिर हल्ला र चर्चा गरिए जस्तो चौतारीमा कुनै त्यस्तो सम्भावना नरहेको भन्दै एमाले अध्यक्ष ओलीलाई समेत बोधार्थ पठाएका छन् । राई चौतारीका अध्यक्षका दाबेदार हुन् । तर उनलाई एमाले नेता योगेश भट्टराई र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट भन्दै ओली पक्षले नेतृत्वमा ल्याउन चाहेको छैन ।

राई लामो समयदेखि योगेश निकट छन् । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए । सोही कारण पनि राई ओलीको कोपभाजनमा परेका हुन् । प्रेस चौतारीका उपाध्यक्षसमेत रहेका पाण्डे भने ईश्वर पोखरेल निकट पत्रकार हुन् । यदि नयाँ नेतृत्वका लागि चुनाव भएमा राईले बाजी मार्ने सम्भावना रहेको एमाले निकट पत्रकारहरु बताउँछन् । प्रधानमन्त्री ओलीले भने अध्यक्षमा पाण्डे र महासचिवमा झापाकै चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका छन् ।

अधिकारी ओली पहिले प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए । राईले चुनावबाटै नयाँ नेतृत्व हुनुपर्ने अडान राखेपछि प्रधानमन्त्री केपी ओली महाधिवेशन उद्घाटनमा नजाने भएका छन् । शनिबारसम्म पनि ओली विराटनगर जाने र महाधिवेशन उदघाटन गरेर फर्किने कार्यतालिका थियो । तर आफूले दिएको निर्देशन नमानेको भन्दै ओली विराटनगर नजाने स्रोतले बतायो ।

‘तपाईहरुको चासो र चाहनालाई ठेस् नलाग्नेगरी प्रेस चौतारी नेपालको नीति र नेतृत्व निर्माण हुनेमा विश्वस्त छु । तर हाम्रो महाधिवेशनलाई लिएर कतिपयले पार्टीकै लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धताप्रति नै शंका गरेको पाइयो । त्यस्तो शंका हुनु भनेको जबजको मूल्य मान्यता, देशको शासन प्रणाली र देशभरबाट आउनु भएका प्रतिनिधिहरुको विवेकमाथि पनि प्रश्न हो । हामी किमार्थ त्यस्तो हुन दिने छैनौं ।

म विश्वास दिलाउन चाहन्छु । प्रेस चौतारी नेपालको नेतृत्व निर्माण लोकतान्त्रिक प्रक्रिया बमोजिम र सार्वभौम प्रतिनिधिहरुको मत मार्फत हुनेछ,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् । उनले कसैको करबलकै कारण आफ्नो उम्मेदवारी फिर्ता नहुने पनि स्पष्ट पारेका छन् । ‘मेरो उम्मेदवारीको निरुपण लोकतान्त्रिक विधिमार्फत नै हुनेछ । कुनै करबल अथवा अलोकतान्त्रिक विधिप्रति कुनै सम्झौता नहुनेमा ढुक्क रहन आग्रह गर्दछु । र, चुन्ने र चुनिने अधिकारप्रति प्रतिबद्ध रहन सबैमा आग्रहसमेत गर्दछु,’ राईले भनेका छन् ।