पहिलोपटक पूर्वराजाप्रति खनिए देउवा, राप्रपामाथि पनि प्रहार


काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा सितिमिति कसैलाई गाली गर्दैनन् । सार्वजनिक मञ्चमा कसैको आलोचना गर्ने उनको बानी छ । थोरै समय बोल्ने, तर विवादबाट मुक्त हुने उनको प्रयास रहन्छ । त्यसैले अहिलेसम्म उनले दिएका अभिव्यक्ति वा भाषण विवादमा आएका छैनन् ।

तर पहिलोपटक देउवा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति खनिएका छन् । त्यो पनि आफ्नै पार्टीको प्रशिक्षण कार्यधक्रममा । कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आइतबार आयोजना गरेको कार्यक्रममा देउवाले अलि लामै समय सम्बोधन गरे । तर धेरैजसो समय उनले पूर्वराजा शाह र राप्रपामाथि खर्चिए ।

देउवाले पूर्वराजा शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौतीसमेत दिए् । उनले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकसमेत नभएको टिप्पणी गरे । ‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् । राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ,’ उनले भने ।

देउवाले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गरे । तर, उक्त पार्टीका मान्छेहरूले दुःख पाउने उनको भनाइ छ । ‘राजनीति गर्नु छ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले । राप्रपाले पनि दुख पाउँछ,’ देउवाले भने । केही समययता राप्रपा देशमा राजसंस्था चाहियो भन्दै आन्दोलित बनेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेलसमेत हालिदिएको टिप्पणी गरे । त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको उनको भनाइ थियो । ‘मैले यिनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन्,’ देउवाले भने । देउवा प्रधानमन्त्री हुँदा २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई अक्षम भन्दै पदमुक्त गरिदिएका थिए । त्यसपछि लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइयो । देउवालाई भ्रष्टाचारको आरोप लगाएर जेलसमेत हालिएको थियो । तर पनि अहिलेसम्म देउवाले पूर्वराजा शाहप्रति कुनै टिप्पणी गरेका भने थिएनन् ।

पछिल्लो समय कांग्रेसमा हिन्दु राष्ट्र अभियान सशक्त बन्दै गएको र यसमा पूर्वराजा शाहको चलखेल बढेको देखेपछि देउवा राजावादीमाथि खनिएको विश्लेषण गर्न थालिएको छ । यदि कांग्रेसले संवैधानिक राजतन्त्र वा हिन्दु राष्ट्रको एजेन्डा नबोकेमा नेपालमा कहिल्यै पनि राजा फर्किने छैनन् भने हिन्दु राष्ट्र पुनःस्थापना पनि असम्भव जस्तै छ ।