श्रीमतीसँग प्याचअप नभएपछि सिके राउतलाई पार्टी बुझाउँदै रेशम, बाबुरामको खतरनाक दाउ


काठमाडौं । दुई वर्षदेखि श्रीमती रञ्जिता श्रेष्ठसँगको विवाद प्याच अप नभएपछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी सिके राउतलाई बुझाउने भएका छन् । जनमत पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको अन्तिम प्रयास भएको छ । दुई दलबीचको एकता अगामी वैशाखभित्र टुंगिने बताइएको छ ।

सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको एकतापछि डा. सिके राउत र रञ्जिता श्रेष्ठ दुवैजना अध्यक्ष बन्ने भएका छन् । नाउपाका संरक्षक रेशम चौधरीका अनुसार एकतापछि रञ्जिता र सिके राउत दुवैले पार्टीको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेको छ । ‘जनमत पार्टीबाट सिके राउतले र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिताजीले नेतृत्व गर्नुपर्छ भन्ने दुवै पक्षको चाहना, इच्छा र समर्थन छ । संवैधानिक, कानुनतः सामाजिक मर्यादाहरु पनि बरियता क्रममा तलमाथि होला । तर, हामी एकअर्कालाई सम्मान गर्दै स्विकारेर जान्छौं,’ रेशमको भनाइ छ ।

नाउपाभित्र पनि अध्यक्ष रञ्जिता र संरक्षक चौधरीबीचको कलहका कारण अरूले पार्टी खेल्न सक्ने सम्भावनाले एकताको बहस चलेको नेताहरू बताउँछन्।नाउपाले २०८० पुस अन्तिम साता भएको पहिलो महाधिवेशन रेशम चौधरीलाई अध्यक्ष बनाएको थियो। तर निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि नाउपा पुरानै कमिटीमा फर्किएको थियो। त्यसपछि नाउपाभित्र रेशमले समानान्तर शक्तिको अध्यास गरिरहेको रञ्जिता पक्षले आरोप लगाउने गरेको छ।

सुदूरपश्चिम प्रदेशमा पार्टी सरकारमा सहभागी हुने, संघमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिँदा उनीहरूबीच मतैक्य थिएन। यस्ता अन्तरविरोधभित्र ठूला पार्टीले खेल्ने सम्भावना रहेकाले एकताको बहस चलेको नउपाका नेताहरूले बताए। २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट मात्रै पार्टी अध्यक्ष सिके राउतले चुनाव जितेर जनमत राष्ट्रिय पार्टी बनेको थियो। समानुपातिकको तीन प्रतिशतको थ्रेस होल्ड कटाउँदा प्रतिनिधिसभामा उसका पाँचजना सांसद निर्वाचित भएका थिए। जनमत र नाउपाबीच एकता भए माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसरह १० सांसद हुनेछन्।

शनिबार नाउपाको केन्द्रीय समिति बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि सम्बोधन गरेका थिए। नाउपा केन्द्रीय समिति बैठकमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराई पनि पुगेकी थिइन्। उनले पनि बैठकलाई सम्बोधन गरिन्। सम्बोधनका क्रममा आफू अध्यक्ष बाबुराम भट्टराईको सन्देश लिएर आएको बताएकी थिइन्। ‘तपाईंहरू दुई पार्टी मिल्नुस्, सिके राउत र रेशम चौधरी सँगसँगै मेरी छोरी पनि छिन् भन्ने बुवाको सन्देश छ, तपाईंहरूलाई सहकार्य, एकताका निम्ती शुभकामना दिन चाहन्छु,’ मानुषीको भनाइ थियो । सिके राउत र रेशमलाई एक ठाउँमा ल्याएपछि चाँडै सो पार्टीसँग नेसपाको एकता गर्ने बाबुरामको दाउ छ । यसो गर्दा पूर्वदेखि पश्चिमसम्म संगठन विस्तार हुने उनको विश्वास छ ।