कसरी फैलियो पूर्वराजा शाहलाई नजरबन्दमा राख्ने हल्ला ?


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले गिरफ्तार गर्ने वा नजरबन्दमा राख्ने हल्लाले सोमबार बिहानदेखि नै राजनीति तताएको छ । प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपराह्न भेटवार्ता हुने सहमति भएसँगै पूर्वराजा शाहलाई नजरबन्दमा राख्ने हल्ला फैलिएको हो । ओली, देउवा र प्रचण्डबीच संक्रमणकालीन न्याय, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र पछिल्लो समय राजावादीहरूको बढ्दो मुभमेन्टलगायतका विषयमा सोमबार अपराह्न छलफल हुँदैछ ।

यही बेला माओवादीले हुलाक राजमार्गअन्तर्गत तराई मधेश जागरण अभियान स्थगित गरेपछि राजनीतिमा केही खिचडी त पाक्दै छैन भन्ने अनुमानलाई बल पुगेको हो । माओवादी सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसकै तयारीका लागि र प्रचण्डको कार्यव्यस्तता देखाउँदै माओवादीले अभियान पाँच दिनका लागि स्थगित गरेको छ ।

प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डसमेत पछिल्लो केही दिनयता पूर्वराजा शाहको सक्रियताप्रति सन्तुष्ट छैनन् । त्यही भएर पनि तीन नेताबीच पूर्वराजाको बारेमा केही निर्णय त हुने होइन भन्ने विषयले कौतूहलता बढाएको हो । त्यसमाथि सोमबार प्रकाशित राजधानी दैनिकले ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने योजना ?’ भन्ने सनसनीपूर्ण समाचार छापेपछि यसलाई थप बल पुगेको हो ।

समाचारमा राजसंस्थाको पुनः स्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यसमा थप छलफल गर्दै अगाडि बढ्न खोजेको उल्लेख गरिएको छ । यस विषयमा ओलीले देउवासँग छलफल गरेको उल्लेख गरिएको छ । यो व्यवस्थालाई नै चुनौती दिँदै पूर्वराजा शाह अघि बढेपछि प्रधानमन्त्री ओलीले त्यसलाई नियन्त्रण गर्न शीर्ष नेताको सहमति लिन लागेको चर्चा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरू पूर्वराजालाई फर्काउने योजनासहित आन्दोलनमा उत्रिएपछि कांग्रेस सभापति देउवाले पूर्वराजा फर्किन नसक्ने बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने टिप्पणी गर्नु, शाह संवैधानिक राजा हुन नसक्ने बताउनु र प्रचण्डले पूर्वराजा शाह मूर्ख भएको टिप्पणी एक साथ गर्नुले पनि एमाले, कांग्रेस र माओवादी शीर्ष नेता पूर्वराजाको सक्रियताप्रति कठोर त बन्न लागेका होइनन् भन्ने विषयलाई थप पुष्टि गरेको छ ।