काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालले शताब्दी पुरानो भालेश्वरको मन्दिरलाई छायाँमा पारेर नक्कली महादेवको मन्दिर स्थापना गरेको भेटिएको छ ।
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो चन्द्रागिरी डाँडाको उचाइमा रहेको भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न जाने भनी ढकालले चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याएका थिए । ढकाल नेतृत्वको चन्द्रागिरी हिल्सले पहिले नक्कली महादेव मन्दिरको संरचना तयार पारेर पछि केवलकार सञ्चालनमा ल्याएको हो । अहिले केवलकार चढेर भालेश्वर महादेव मन्दिर दर्शन गर्न दैनिक हजारौं तीर्थयात्री पुग्ने गरेका छन् ।
तर चन्द्रागिरी हिल्सले बनाएको नयाँ भालेश्वर मन्दिरकै पछाडिपट्टि शताब्दी पुरानो भालेश्वर महादेव मन्दिर रहेको छ । शिलालेखमा रहेको पुरानो भालेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ । केवलकार चढेर जाने दर्शनार्थीलाई कुन सक्कली कुन नक्कली भालेश्वर मन्दिर भन्ने थाहा हुने कुरै भएन । आफू जन्मेदेखि अहिलेसम्म सोही मन्दिरमा पूजा गर्दै आएका स्थानीय ध्रुव लामिछानेले पैसाको बलमा चन्द्रागिरी हिल्सले पुरानो भालेश्वर महादेव मन्दिर ओझेलमा पार्ने गरी नयाँ भालेश्वर महादेव मन्दिर स्थापना गरेको बताए । कतिसम्म भने जसको नाममा महादेव मन्दिर बनाइएको हो त्यसको शिलासम्म प्राणप्रतिष्ठा नगरिएको उनको भनाइ छ ।
पुरानो भालेश्वर महादेव मन्दिरको साख फर्काउनका लागि संघर्ष गर्ने स्थानीयको भनाइ छ । भालेश्वर महादेव मन्दिरलाई कमाई खाने भाँडो बनाएको र व्यक्तिगत व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेकामा स्थानीय आक्रोशित छन् । ग्लोबल आईएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले राजनीतिक शक्तिको आडमा कौडीको भाउमा सरकारी वनजंगल सरकारसँग लिजमा लिएर केवलकार सञ्चालन गर्दै आएका छन् ।
चन्द्रागिरी हिल्सको बदमासी यतिमा मात्र सीमित छैन, मकवानपुरको चित्लाङ, दामन, मार्खुलगायतका स्थानबाट भालेश्वर महादेव मन्दिरमा जाने सर्वसाधारणसँग प्रतिव्यक्ति सय रुपैयाँ दरले उठाएर लूट धन्धा मच्चाइरहेका छन् । यसका लागि उनलाई चन्द्रागिरी नगरपालिकाको पनि सहयोग र साथ रहेको स्थानीयको आरोप छ । वर्षौंदेखि स्थानीयसँग बाटो हिँडेको सय रुपैयाँ उठाउँदै आए पनि हालै मात्र यो तथ्य बाहिर आएको हो । बाटो हिँड्नेसँग पनि सय रुपैयाँ असुल गरिरहेको थाहा पाएपछि केही दिनअघि सयौं स्थानीय युवा मोटरसाइकलमा गएर पैसा उठाउने कार्य बन्द गर्न चेतावनी दिएका थिए । हालसम्म चन्द्रागिरी हिल्सले झन्डै ८० लाखभन्दा बढी शुल्क उठाइसकेको स्थानीयको भनाइ छ ।
सर्वसाधारणसँग मात्र होइन, सो बाटोमा हिँड्ने सयौं विदेशी पर्यटक र पदयात्रीसँग समेत पैसा असुलिएको छ । चन्द्रागिरी हिल्सको मात्र पर्यटन विकास होस्, मकवानपुरका पर्यटकीय क्षेत्रमा मानिस र पर्यटक नजाउन् भन्ने उद्देश्य हिल्सको देखिन्छ । सोही कारण अविलम्ब बाटो हिँड्नेसँग पनि शुल्क उठाउन नछाडे चन्द्रागिरी हिल्सका सबै अवैध संरचना भत्काइदिने युवाहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया