‘जेरीः अन टप’को छायांकन सकियो, ६ करोड बजेट



सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्म ‘जेरीः अन टप’को छायांकन सकिएको छ । दुई गीत बाँकी राखेर यसको निर्माणपक्षले अन्य छायांकन सकेको हो ।

असोजबाट सुरु भएको छायांकन ६० दिन लगाएर सकिएको निर्माणपक्षले बताएको छ । बिचमा ब्रेक धेरै भएकाकारण पनि फिल्मको छायांकनका लागि समय लागेको हो ।

यो फिल्मको बजेट ६ करोड रहेको निर्माता सरोज न्यौपानेले बताएका छन् । २ करोड बजेट त कलाकारहरुको पारिश्रमिकमै गएको निर्माणपक्षले बताएको छ ।

फिल्ममा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । फिल्मको छायांकन काठमाडौं, लुक्ला, मुस्ताङमा गरिएको छ । लद्दाकमा खिच्ने भनिएको दृश्य पनि मुस्ताङमा नै खिचिएको निर्माणपक्षले बताएको छ ।