काठमाडौं । एमाले निकट प्रेस चौतारी नेपालमा टीके प्रथा दोहोरिने भएको छ । विराटनगरमा आइतबारदेखि सुरु भएको दशौं अधिवेशन निर्वाचन नै नगरी केन्द्रीय पदाधिकारी टीके प्रथाबाट चयन हुने भएका छन् । नौ वर्षअघि एमाले अध्यक्ष केपी ओलीले गणेश बस्नेतलाई अध्यक्षको टीका लगाइदिएका थिए ।
बस्नेतले नौ वर्षसम्म अकन्टक अध्यक्षको नेतृत्व सम्हाले । आफू बिदा हुँदै गर्दा बस्नेतले अहिलेका उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाएर नयाँ कार्यसमिति चयन भएको लिस्ट टाँस्ने अन्तिम तयारी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कुनै पनि हालतमा निर्वाचनमा नजान र सहमतिमै नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएपछि अहिले एमाले महासचिव शंकर पोखरेल, सचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, जनवर्गीय संगठनका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत नयाँ कार्यसमिति चयनका लागि छलफलमा जुटेका छन् ।
प्रेस चौतारीको अध्यक्षका अर्का दाबेदार राजेश राईको व्यवस्थापनको प्रयास गरिने, नमाने उनलाई बाइपास गर्दै नयाँ कार्यसमितिको लिस्ट टाँसिने भएको छ । निर्वाचन प्रक्रियामा निर्वाचनको मिति नै नतोकिएकाले अधिकांश महाधिवेशन प्रतिनिधि घर फर्केका छन् । एकीकृत समाजवादी निकट नेपाल समाजवादी प्रेस संगठनबाट जानेलाई एउटा पदाधिकारी र चार–पाँचजना केन्द्रीय सदस्य दिने तयारी भएको छ । राई पक्षले भने अझै पनि निर्वाचनकै माग गरिरहेको छ । निर्वाचन नभए समानान्तर कमिटी घोषणा गर्नुपर्ने भन्दै अहिले सो पक्ष छलफलमा जुटेको छ ।
प्रतिक्रिया