सरस्वती माविका पूर्वअध्यक्षहरूसहित ९५ प्रतिशत स्थानीय विपक्षमा हुँदाहुँदै कसले रोक्यो शालिक हटाउन ?


काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको वासुदेव उपाध्यायको अर्धकदको शालिक हटाउन तीव्र दबाब परे पनि सम्बन्धित पक्षले अझै अटेर गर्दै आएको छ । २०८१ फागुन २८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठक औपचारिक रूपमै निर्णय गर्दै व्यवसायी नवराज आचार्यलाई शालिक हटाउन आग्रह गरेको थियो । तर उनले आफ्नो हजुरबुबाको शालिक हटाउन चासो देखाएका छैनन् । बरु उनी अहिले पनि काठमाडौंमै बसेर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सञ्चालक समिति बैठकले दुई साताअघि गरेको आग्रहलाई अटेर गरेपछि फेरि पनि आचार्यलाई सम्बोधन गरेर औपचारिक रूपमै पत्र पठाउने तयारी भएको एक सदस्यले अनलाइनटिभीनेपाललाई बताए । स्कुल स्थापनादेखि त्यहाँको शैक्षिक उन्नयन र विकासमा शून्य योगदान भए पनि आचार्यले पैसाकै बलमा हजुरबुबाको शालिक सरकारी जग्गामा राखेका थिए ।

स्कुल व्यवस्थापन समितिलाई विभिन्न आश्वासन र प्रलोभनमा पारेर शालिक राखेको भन्दै हजरियाका ९५ प्रतिशत जनता आक्रोशित भएका छन् । सरस्वती माविका पूर्वअध्यक्षहरूसहित अधिकांश पूर्वविद्यार्थीहरूले सहमतिकै आधारमा शालिक हटाउन दबाब दिइरहेका छन् । तर आचार्य पक्षले त्यसलाई कमजोर ठानिरहेको छ ।

यदि यसरी नै अटेर गरेर बसेमा बल प्रयोगका माध्यमबाट भए पनि शालिक त्यहाँबाट अन्यत्रै सार्न लगाउनुपर्ने आवाज उठेको छ । स्थानीय माओवादी र एमालेको एउटा समूहले आचार्यलाई काखी च्यापेको देखिएको छ । जसकारण उनीहरू सार्वजनिक स्थलमा शालिक राख्नु जायज हो भन्दै कुतर्क गरिरहेका छन् । जबकि व्यक्तिगत चाहना र लहडमा सरकारी जग्गामा कसैको शालिक राख्न पाइँदैन । स्कुल व्यवस्थापन समितिले विद्यालय हातामा नराख्न भन्दाभन्दै पनि दुई चारजना माओवादी र एमाले कार्यकर्ताको समूहले अचार्यलाई संरक्षण गर्नुको कारण उनको आर्थिक उन्नति नै हो ।

हिजो स्कुल तहको शिक्षा आर्जन गर्दा विपन्न रूपमा रहेका आचार्य काठमाडौं आएको केही वर्षमै कसरी करोडपति बने ? यो रहस्यमै छ । तर आर्थिक रूपमा जतिसुकै सम्पन्न भए पनि उनको आफ्नै परिवार भने सग्लो छैन ।