काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३, हजरियास्थित सरस्वती माध्यमिक विद्यालयले स्कुल परिसरमा राखेको वासुदेव उपाध्यायको शालिक तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई पत्र पठाएको छ । विद्यालय व्यवस्थापन समितिको फागुन २८ गतेको निर्णयअनुसार सरस्वती माविले फागुन २९ गते नै नवराज आचार्यलाई पत्र पठाएको हो । तर दुई साता हुन लागिसक्दा पनि आचार्यले आफ्नो हजुरबुबाको शालिक हटाएका छैनन् ।
विद्यालयसँग सम्बन्धित नै नभएका व्यक्तिको शालिक राखिएको भन्दै चौतर्फी आलोचना भएपछि विद्यालय व्यवस्थापन समिति र सरस्वती मावि दुवैले आचार्यलाई शालिक हटाउन पत्र पठाए पनि उनले अटेर गर्दै आएका छन् । सरस्वती माविले आचार्यलाई पठाएको पत्रमा विद्यालय व्यवस्थापन समितिको निर्णयविनै विद्यालय परिसरमा शालिक राखिएको स्पष्ट पारेको छ । तर आचार्यनिकट केही व्यक्ति, माओवादी र एमालेका स्थानीय कार्यकर्ताले शालिकको बचाउ गर्दै आएका छन् ।
‘उपर्युक्त सम्बन्धमा यस श्री सरस्वती माध्यमिक विद्यालय हजरिया, बरहथवा–३, सर्लाहीको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिको निर्णयबिना नै यस विद्यालय परिसरभित्र शालिक स्थापना गरिएकाले उक्त शालिकलाई विद्यालय परिसरबाट यथासिघ्र हटाई दिन हुन अनुरोध छ,’ विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवले आचार्यलाई लेखेको पत्रमा उल्लेख छ ।

आचार्य हाल काठमाडौं महानगरपालिका–१० मा बस्दै आएका छन् । विद्यालय स्वयंले शालिक हटाउन पत्र लेखेपछि अहिले नवराज आचार्यलाई बोकेर हिँडेका केही व्यक्तिको निदहराम भएको छ । सार्वजनिक स्थलमा व्यक्तिको शालिक राख्न नपाइने कानुनमै व्यवस्था भए पनि आचार्यबाट पालितपोषित झुण्डहरू भने उनको बचाउमा लाग्दै आएका छन् । सम्पूर्ण हजरियावासी आचार्यले तत्काल शालिक नहटाए भत्काउनुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया