कुलमान घिसिङ हटाउने निर्णयले कांग्रेसमा बबन्डर


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णयपछि नेपाली कांग्रेसमा बबन्डर मच्चिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानलाई हटाउने निर्णयलगत्तै सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको छ ।

एमालेबाहेक सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादी, जनमत पार्टीले सरकारको आलोचना गरेका छन् । आफू प्रधानमन्त्री भएलगत्तै केपी ओली कुलमानलाई हटाउन चाहन्थे । नौ महिनापछि ऊर्जामन्त्री दीपक खड्काको साथ पाएर ओली आफ्नो मिसनमा सफल भएका छन् । सरकारको निर्णयलगत्तै कांग्रेसमा कचिलो सुरु भएको छ । यसले सरकारको आयुमाथि नै प्रश्न चिह्न उठेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । महामन्त्रीद्वयले सरकारको निर्णय ठिक नभएको बताएका छन् ।

महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने भए पनि यस्तो नभएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने, तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन,’ महामन्त्री थापाले भनेका छन्, ‘निर्णय गलत छ, सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’ अर्का महामन्त्री शर्माले पनि उक्त निर्णयप्रति आपत्ति जनाउँदै विमति व्यक्त गरेका छन् ।

‘कारबाही योग्य भएपछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारले कुलमान हटाउन हुन्न थियो,’ उनले भनेका छन्, ‘सरकारले यो निर्णय निर्णय समयोचित विल्कुलै थिएन । यसप्रति खुला र प्रष्ट रुपमा विमति छ ।’ महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक र सार्वजनिक रुपमै सरकारलाई सजग गराइएको पनि बताएका छन् ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले थाती राखिसकेको प्रक्रिया अघि बढाएकोमा असन्तुष्टि जनाए। ‘उहाँहरूले कसरी के गर्नुभएको हो, हामी त कुलमानजीलाई हटाउने प्रक्रिया रोकियो भन्नेमा थियौं,’ महतले भने, ‘पार्टीमा कुनै छलफल भएको थिएन। नो थिङ।’ कांग्रेस नेता शेखर कोइरालाले पनि कुलमान हटाउने सरकारको निर्णयलाई ‘विनाशकाले विपरीत बुद्धि’ भनी टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान हटाउने निर्णयप्रति खेद व्यक्त गर्दै सच्याउन आग्रह गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले कसलाई राख्ने कसलाई हटाउने निर्णय गर्ने भन्ने अधिकार जनतामा रहेको भन्दै मौन विरोध जनाएका छन् । तर एमालेका एउटा नेता कार्यकर्ताले पनि कुलमान हटाउने निर्णयको विरोध गरेका छैनन् ।

प्रधानमन्त्री ओली पार्टी अध्यक्ष भएको र उनको निर्णय अन्तिम भन्दै एमाले मौन बसेको हो । तर कांग्रेस भने सत्तारुढ भए पनि सरकारको गलत निर्णयको विरोधमा उत्रिएको छ । बर्खास्तीमा परेका कुलमान सरकारको निर्णयविरुद्ध अदालत जाने भएका छन् । बर्खास्तीको पत्र बुझेलगत्तै मंगलबार उनी सर्वोच्च अदालत जाने भएका छन् । सरकारले राम्रो काम गर्दागर्दै अनावश्यक आरोप लगाएर हटाएको उनको भनाइ छ । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद् बैठकमै कुलमानलाई हटाउन नहुने र हटाएमा अदालतबाट स्टे अर्डर लिएर आउने सम्भावना प्रबल रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।