काठमाडौं – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गरिएपछि नेपाल राष्ट्र बैंकको गभर्नरमा महिलाको सम्भावना कमजोर बनेको छ । कांग्रेस र एमालेबीच राजनीतिक नियुक्तिमा भागबन्डा हुने गरेको छ । नेपाल प्रहरीको आइजीपीमा कांग्रेस निकट मानिने दीपक थापा नियुक्त भएपछि राष्ट्र बैंकको गभर्नरमा महिला नियुक्ति हुने सम्भावना बढेको थियो ।
राष्ट्र बैंककी डिपुटी गभर्नर निलम ढुंगाना झापा घर भएको र त्यसमा पनि एमाले निकट भएकाले धेरैले उनी नै पहिलो महिला गभर्नर हुने चर्चा व्यापक थियो । तर सोमबार साँझदेखि पहिलो महिला गभर्नरको सम्भवना कमजोर हुँदै गएको हो । ऊर्जा मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ । तर सोही मन्त्रालयअन्तर्गतको विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा एमाले निकट शाक्य नियुक्त भएपछि गभर्नर कांग्रेसले पाउने प्रबल सम्भावना देखिएको छ ।
कांग्रेस नेताहरूले सभापति शेरबहादुर देउवालाई गभर्नर नछोड्न दबाब दिइरहेकाले पनि प्राधिकरणको कार्यकारी निर्देशक कांग्रेसले छाडेको बुझिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नयाँ गभर्नर नियुक्तिका लागि गभर्नर छनोट समिति गठन गरिएको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरूमध्येबाट तीनजनाको नाम खोज्ने र मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।
समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल सदस्य छन् । आगामी चैत २४ बाट गभर्नर महाप्रसाद अधिकारीले अवकाश पाउँदै छन् । त्यसैले अब नयाँ गभर्नर को होलान् भन्ने चासोको विषय बनेको छ । अहिले गभर्नरका लागि ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचनलगायत निजी बैंकमा सीईओ रहेका दौडमा छन् ।
गभर्नर बन्नकै लागि ढुंगानाले आइतबार नै नबिल बैंकको सीईओबाट राजीनामा दिइसकेका छन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीको दह्रो साथ रहेको छ । राष्ट्र बैंकबाट डेपुटी गभर्नर निलम ढुंगाना, बमबहादुर मिश्र र डा. गुणाकर भट्ट तथा राष्ट्र बैंकको सञ्चालक सदस्य रवीन्द्र पाण्डे र चिन्तामणि सिवाकोटी गभर्नर बन्ने दौडमा रहेका छन् ।
जसमध्ये निलम ढुंगाना महिला र डेपुटी गभर्नर पनि भएकाले तीनजनाको सर्टलिस्टमा उनको नाम राखी नियुक्ति गरिने एमाले नेता कार्यकर्ताले बताउँदै आएका छन् । तर विद्युत प्राधिकरणमा एमालेकै शाक्य आएकाले अब कांग्रेस सभापति देउवाले जसलाई चाह्यो ऊ नै नयाँ गभर्नर बन्ने सम्भावना रहेको छ ।
स्रोतका अनुसार गभर्नर छनोट समितिले डा.गुणाकर भट्ट, ज्ञानेन्द्र ढुंगाना र निलम ढुंगानाको नाम गर्ने छ । तीनजनामध्ये डेपुटी गभर्नरबाट एकजनालाई अनिवार्य सिफारिस गर्नुपर्ने हुन्छ । त्यसैले भट्ट र निलम ढुंगाना दुवैको नाम सिफारिस हुने र बाहिरबाट ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस हुने चर्चा सुरु भएको छ । कांग्रेसले गभर्नरमा दाबी गरेकाले गुणाकर र ज्ञानेन्द्रमध्ये एकजना गभर्नर नियुक्त हुने सम्भावना धेरै छ ।
प्रतिक्रिया