सरस्वती माविमा निर्मित मन्दिरको खर्चबारे नवराज आचार्यले ढाँटे कि ठेकेदारले ?


काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा निर्मित सरस्वती मन्दिर भवनको लागतबारे दुईथरी कुरा बाहिर आएको छ । २०६८ सालमा निर्मित सरस्वती मन्दिरको निर्माण व्यवसायी नवराज आचार्यले आफ्नो हजुरबुबा वासुदेव उपाध्याय र हजुरआमा दुर्गादेवीको स्मृतिमा निर्माण गरेका थिए ।

सानो आकारको मन्दिरको लागतबारे लगानीकर्ता आचार्यले तथ्य बाहिर ल्याएपछि यसबारे फरक फरक धारणा आउन थालेको छ । काठमाडौं बस्दै आएका आचार्यले मन्दिर निर्माणका लागि स्थानीय एमाले नेता शंकर दाहाललाई आर्थिक पाटोको जिम्मा दिएका थिए । स्कुल परिसरमा निर्मित मन्दिर निर्माणको हेरचाहको काम भने स्थानीय रामबहादुर रायमाझीलाई दिइएको थियो । उनले ठेकेदारले मगाएका सामान दाहाललाई भनिदिने र उनले ठेकेदारलाई पैसा दिने गर्थे ।

मन्दिर निर्माणको एक वर्षअघि मात्रै सरस्वती माविमा भारत सरकारले ४६ लाख रुपैयाँको लागतमा भव्य भवन बनाइदिएको थियो । सोही भवनमा अहिले विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् । तर त्यही भवनको अगाडि निर्मित सानो मन्दिरको लागत सवा १७ लाख लागेको भन्ने आचार्यले बताएपछि अहिले त्यत्रो पैसा कहाँ खर्च भयो भन्ने आवाज उठ्न थालेको छ ।

मन्दिरको संरचना हेर्दा सात–आठ लाख लागत पनि नलाग्ने स्थानीयको भनाइ छ । तर आचार्यले आफूले सवा १७ लाख रुपैयाँ बुझाएको भन्दै दुखेसो गरेका छन् । उनले बरहथवामै रहेको एउटा जग्गा १३ लाखमा बिक्री गरेर मामामार्फत दाहाललाई पैसा पठाएको र पछि सवा पाँच लाख रुपैयाँ बुझाएको स्कुलका पूर्वविद्यार्थीहरूको भेलामा बताएका थिए । तर दाहालले भने मन्दिर निर्माण गर्दाको लागतबारे सबैलाई प्रस्ट जानकारी रहेको बताउँछन् । उनले आफूले आर्थिक पाटोको जिम्मा लिएको स्वीकार्दै जति ठेकेदारले पैसा मागेको हो, आफूले त्यति नै बुझाएको उल्लेख गरे ।

‘मन्दिर निर्माण गर्दा आर्थिक पाटोको जिम्मा मैले र रेखदेखको जिम्मा रामबहादुर रायमाझीले लिनुभएको थियो । ठेकेदारले जति पैसा भनेको हो त्यति नै नवराज आचार्यसँग मागेर बुझाएको हुँ,’ उनले भने, ‘मन्दिरको संरचना हामीलाई दिइएको डिजाइनमै बनेको हो । यसमा कुनै अनियमितता भएको छैन ।’ तर आचार्यले अहिले आफूले दिएको डिजाइनअनुसार पनि मन्दिर निर्माण नभएको भन्दै दुखेसो पोख्दै आएका छन् । देख्ने जोकोहीले पनि मन्दिर न्यून लागतमा बनेको स्पष्ट देख्न पाउँछन् ।

एक त महँगो लागतमा गुणस्तरहीन मन्दिरको संरचना निर्माण हुनु र अर्कोतर्फ आफ्नो हजुरबुबाको शालिक राखेको विषय विवादमा परेपछि उनी तनावमा छन् । स्कुल परिसरमा राखिएको शालिक हटाउन उनलाई विद्यालय व्यवस्थापन समिति र सरस्वती माविले पत्र पठाएर ताकेता गर्दै आएका छन् । उनले अहिलेसम्म शालिक हटाएका छैनन् । आफूले नचाहँदा नचाहँदै पनि केही व्यक्तिको उक्साहटमा आफूले शालिक राखेको उनको दुखेसो छ ।