रवि लामिछाने हालेको रिटमा आज सुनुवाइ हुँदै, साधारण धरौटीको फैसला आउला ?


काठमाडौं – जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनको पेसीमा बुधबार सुनुवाइ हुँदैछ । रिटको पेसी न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको छ । लामिछानेले गत शुक्रबार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो । फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझेको भन्दै लामिछानेले उक्त आदेश बदरको माग तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाऊँ भनी निवेदन दर्ता गराएका थिए ।

उनले अहिलेसम्म कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले आफूलाई लाखौं रुपैयाँ धरौटी लिएको भन्दै साधारण धरौटीमा छाड्न माग गर्दै निवेदन दिएका छन् । तर कहीँको उच्च अदालतले पनि रविको रिट निवेदनमा आदेश सुनाएका छैनन् । आफूविरुद्ध सहकारी ठगीको मुद्दा चलेकै कारण रवि सार्वजनिक कार्यक्रम र पार्टीका गतिविधिमा देखिएका छैनन् ।