काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो अझै पनि नियन्त्रणमा आउने सकेको छैन । बुधबार बिहान करिब साढे ९ बजेदेखि लागेको आगो साढे पाँच घन्टा बितिसक्दा पनि नियन्त्रण बाहिर छ ।
आगालागीमा परेर माथि नै रहेका तीन महिला र आठ पुरुष गरी ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले तीनजनाको उद्धार गरेको हो । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरीलगायतले निरन्तर प्रयास गरिरहे पनि सफल हुन सकेका छैनन् ।
आगलागी नियन्त्रणमा नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट विपद् व्यवस्थापनको सामाग्रीसहित सुरक्षा फौज खटिएको छ । क्रेनको सहयोगमा पानीलाई भित्रसम्म पुर्याई नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । करिब एक दर्जन दमकलले आगलागी निभाउने प्रयास गरिरहेका छन् । आगो झन् झन् फैलिरहेको छ । प्लाजामा रहेका करोडौंका भौतिक संरचना ध्वस्त बनेको छ ।
सहरको बीच र खुला ठाउँमा आगलागी हुँदा पनि समयमै नियन्त्रणमा ल्याउन नसक्नुले नेपालको विपद् व्यवस्थापन तथा उद्धार कार्य कतिसम्म कमजोर अवस्थामा रहेछ भन्ने स्पष्ट देखाउँछ ।
प्रतिक्रिया