ठ्याक्कै नौ महिनापछि ‘स्वर्ग र नर्क’ सम्झँदै प्रचण्डको पश्चाताप



काठमाडौं । ‘तराई मधेश जागरण अभियान’ छाडेर प्रधानमन्त्री केपी ओलीलाई भेट्न सिंहदरबार पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टीआरसीमा सहमति गर्न जाने निर्णयप्रति पछुताएका छन् । टीआरसीमा सहमति गरेको भोलिपल्टै सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि उनलाई बेकार प्रधानमन्त्री केपी ओली भेट्न गइएछ भन्ने लागेको छ ।


राप्रपाका ज्ञानेन्द्र शाहीलगायतले आफूलाई टीआरसीसँग कुलमान साटेको भन्दै आरोप लगाएपछि प्रचण्ड विछिप्त बनेका छन् । बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा उनले दिएको अभिव्यक्तिले यो कुरालाई पुष्टि गर्छ । कुलमान हटाएकोमा प्रचण्ड ओलीप्रति निकै आक्रोशित देखिन्छन् । टीआरसीमा सहमति हुनेवित्तिकै किन कुलमानलाई हटाइएको हो भन्ने उनले प्रश्नसमेत गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले अब प्रधानमन्त्रीले कुलमान हटाउने विश्वासिलो आधार नदिएसम्म संसद् बैठक चल्न नदिने उनले चेतावनीसमेत दिए ।


‘वास्तवमा नढाँटी भन्ने हो भने प्रधानमन्त्रीज्यूले टिआरसीबारे छलफल गर्नुपर्यो भन्दै पटक–पटक खबर गर्नुभएको थियो, मैले पनि ठिकै छ नि त, त्यसको बाँकी काम सकेकै राम्रो भनेर भेट्न गएँ’, उनले भने, ‘तर म उठेर हिँडेलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नैपर्ने कुनै बाध्यता त थिएन होला, यसले मलाई फेरि उहाँको स्वर्ग र नर्क सँगै जाने कुराको याद आयो क्या !’ ओलीले सुनियोजित रुपमै संयोग जुराएर आफूविरुद्ध गलत प्रचार होस् भन्ने उद्देश्य राखेको प्रचण्डको बुझाई छ । ‘म निस्किएलगत्तै त्यो निर्णय गरिनुले उहाँ (प्रधानमन्त्री)को नियत प्रस्ट भयो, फेरि एकपटक जालझेल र छलको गन्ध आएको महसुस भइरहेको छ’, उनले भने ।


कुलमानको विषयमा प्रधानमन्त्री ओलीले संसदमा उपस्थित भएर स्पष्टीकरण नदिएसम्म बैठक नचल्ने उनको अडान छ । ‘प्रधानमन्त्री रोस्ट्रममा उपस्थित भएर जवाफ नदिएसम्म हाउस चल्दैन । प्रधानमन्त्रीले आएर स्पष्टीकरण दिनुपर्छ । त्यो स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्त बैठक सुचारु हुन्छ, नत्र उही जालझेलकै शैलीमा स्पष्टीकरण आयो भने चाहिँ आन्दोलन अघि बढ्छ’, उनले भने ।


गत असार १७ गते प्रचण्ड प्रधानमन्त्री थिए । प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए । त्यसबेला ओलीले ‘स्वर्ग गए सँगै जाने, नर्क गए सँगै जाने’ भनेर प्रचण्डलाई ढुक्क भएर सरकार चलाउन आग्रह गरेका थिए । तर त्यसै रात ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर सात बुँदे सहमति गरी कांग्रेस–एमाले गठबन्धनको सरकार बनाउने र पहिलो कार्यकाल ओली र दोस्रो कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति गरेका थिए ।